रुपन्देही । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका–हार्थोकस्थित हिरापोखरामा जन्मेका कृष्णबहादुर दर्नाल आफू साक्षर मात्रै हुन् । तर, उनले छोराछोरीलाई डक्टर, नर्स र सिए बनाए ।
२०१५ सालमा खुमलाल र देवकुमारी दर्नालका पाँच सन्तानमध्ये माइलो सन्तानका रूपमा जन्मिएका कृष्णबहादुरले आफूले पढ्न नपाए पनि आफ्ना सन्तानहरूलाई भने पढाइभन्दा पर राखेनन् । दैनिकी गुजाराका लागि १५ वर्षको उमेरमै उनी गाउँ छाडेर बुटवल पसे । अनि भविष्य बनाउने निधो गरे ।
पाल्पाबाट बुटवल आएका दर्नालले सुरुमै सिलाई पेशालाई रोज्ने निधो । तर त्यसको कुनै जानकारी उनलाई थिएन । यो उनले गाउँमा देखेका र सुनेका मात्रै थिए ।
उनले कपडा पसलको छेउमै मेसिन राखेर सिलाई सिक्न थाले । मेहनती थिए, धैर्यशील पनि थियो । सीपमा निखार आउँदै गयो । एकपछि अर्को काम सिक्दै उनी आत्मनिर्भर बन्न थाले । यो सिलाई पेशा नै पछि उनको जीवन बदल्ने आधार बन्यो । र अहिलेसम्म यसैलाई उनले अङ्गालेका छन् ।
२१ वर्षको उमेरमा कमला दर्नालसँग विवाह गरेपछि दर्नाल पारिवारिक जिम्मेवारीमा पनि बाँधिए । दुई छोरा र चार छोरीको बाबु बनेका उनले आफूले त्यो समयमा पढ्न नपाएकाले भोग्नुपरेको समस्यालाई देखेर आफ्नो पहिलो उद्देश्य नै सन्तानको शिक्षालाई दिएको बताउँछन् । ‘आफूले नपाएको शिक्षा आफ्ना सन्तानलाई दिलाउने सपना देखेको थिएँ, पूरा भएको छ ।’ उनी भन्छन् ।
सिलाइबाटै कमाएको पैसाले उनले सबै छोराछोरीलाई नर्सरीदेखि नै बोर्डिङ स्कुलसम्म पढाए । पारिवारिक जीवन र व्यवसाय सँगसँगै अघि बढिरहेका दर्नालले २०४३ सालमा छोराको नाममा “दिनेश टेलर्स” खोल्दै व्यवसायलाई थप व्यवस्थित रूपमा अघि बढाए । एक जना कालिगड र एउटा मेसिनबाट सुरु भएको व्यवसाय बिस्तार हुँदै गयो । सिलाई पेशा मै रहेर उनले आफ्नो जेठो छोरा डाक्टर बनाउने सपना पनि पूरा गरे ।
जेठो छोरा डा. दिनेश दर्नालले २०७३ सालमा चितवनको पुरानो मेडिकल कलेजबाट एमडी क्लिनिकल माइक्रोबायोलोजी विषयमा अध्ययन पूरा गरे । उनले युनिभर्सल मेडिकल कलेज भैरहवा र हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिसकेका छन् ।





