काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको दोस्रो अभ्यास टी–२० खेलमा पनि हार बेहोरेको छ।
बिहीबार श्रीलंकाको कोल्ट्स मैदानमा सम्पन्न खेलमा नेपाल ७३ रनले पराजित भयो। श्रीलंका ‘ए’ ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो।
नेपालका लागि करण केसीले सर्वाधिक ४१ रनको अविजित पारी खेले। लोकेश बमले २५ रन बनाए भने कप्तान रोहित पौडेलले १८ रन जोडे। गुल्शन झाले १७ र सोमपाल कामीले १६ रन बनाए।
श्रीलंका ‘ए’ तर्फ नुवान थुसाराले ३ विकेट लिए । चमिका करुणारत्ने र दुशान हेमन्थाले २–२ विकेट लिए भने ट्राभिन म्याथ्यु र दुलाज समुदिथाले समान १–१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो । लाहिरु उडाराले ९३ रनको उत्कृष्ट पारी खेले भने लासिथ क्रसपूलले ५३ रन बनाए । सहान अराकिगे ५५ रनमा अविजित रहे।
नेपालका बलरमध्ये कुशल भुर्तेलले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए। नन्दन यादवले ४ ओभरमा ७२ रन दिएर २ विकेट लिए भने करण केसीले १ विकेट लिए।
अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली यसअघि पहिलो अभ्यास खेलमा पनि पराजित भएको थियो । नेपाल र श्रीलंका ‘ए’ बीचको तेस्रो तथा अन्तिम अभ्यास खेल शनिबार हुनेछ।
त्यसपछि नेपाली टोली भारत जानेछ, जहाँ मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास टी–२० खेल खेल्ने तालिका रहेको छ।
आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले विश्वकपको पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ।





