सामाजिक संजाल:

प्रतिनिधिसभा निर्वाचन-२०८२

एमाले ढुक्कहुँदा नेकपा र काँग्रेस मौका हेर्दै, अन्यको कस्तो छ अवस्था?

२०८२ माघ १७, शनिबार

सुर्खेत । २०७९ को निर्वाचनमा सल्यानदेखि गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाशत्त ज्वाला भारी मतका साथ विजयी भएका थिए। यस पटक उनि मैदान बाहिर हुँदा ज्वालाको पार्टी नेकपाबाट माओवादीका रमेशकुमार मल्ल उम्मेदवार छन्।

नेकपा एमालेले पार्टीका कर्णाली अध्यक्ष गुलावजंग शाहलाई उठाएको छ। काँग्रेसबाट केशबहादुर विष्ट उठेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ललित चन्दलाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, नेकपा माओवादीबाट चन्द्रबहादुर खड्का, राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, संयुक्त नागरिक पार्टीबाट कालिदास विक, नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेशनल रिपब्लिक पार्टी नेपालबाट डिल्लीबहादुर घर्ती तथा मंगोल नेशनल अर्गनाइजेशनबाट वालसिंह घर्ती मैदानमा छन्। स्वतन्त्र उम्मेदवारमा धुर्वराज वली र जुद्धबहादुर सिंहले उम्मेदवार छन्।

सल्यानमा स्वतन्त्र तथा विभिन्न दलबाट गरी १४ जना उम्मेदवार मैदानमा भएपनि मुख्य प्रतिस्पर्धा काँग्रेस, एमाले र माओवादीबीच हुने आकलन गरिएको छ।

आगामी निर्वाचनका लागि सल्यानको चुनावी भिडन्त रोचक बन्ने देखिएको छ। मुख्य तीन दलबीच प्रतिस्पर्धा हुँदा साना अन्य दलहरुले आफ्ना पार्टीका मत काट्ने चिन्ता उनिहरुमा छ।

पूर्वएमाले पृष्ठभूमी भएका नेकपाका नेता प्रकाश ज्वालाको राम्रो पटक भएको जिल्लाको रुपमा सल्यानलाई हेरिन्छ। ०५६ को आम निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यमा एमालेबाट निर्वाचित भएका उनै ज्वाला ०७० को दोस्रो संविधान सभा, २०७४ मा प्रदेसभा र २०७९ को निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिभिसभा सांसद भएका थिए।

उनी चुनावबाट बाहिरिँदा नेकपाबाट मल्लले उम्मेदवार बन्ने मौका पाएका छन्। लामो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवका रुपमा काम गरेका उनि तत्कालीन माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत हुन्। मल्ल पार्टीका ठूला नेताहरुको आर्शिवाद लिएर पहिलो पटक चुनावमा होमिएका छन्। युवा भएका कारण मतदाताले आफुलाई मत दिनेमा मल्ल विश्वस्त छन्।

विप्लव माओवादी पृष्ठभूमिका ललित चन्द रास्वपाबाट उम्मेदवार छन्। पेशालो सिभिल इन्जिनियर समेत रहेका उनि रास्वपामा बौद्धिक व्यक्तिका रुपमा गनिन्छन्। उनले लामो समय ग्रामीण विकासका सन्दर्भमा काम गरेको र सोही अनुसार जनताले विश्वासका सात मत दिने आश गरेका छन्। चन्दको पृष्ठभूमि माओवादी भएकाले नेकपाका भोट तान्ने आकलन गरिएको छ।

यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट खड्का उम्मेदवार छन्। खड्कासँगै नेकपा, रास्वपामा पनि माओवादी पृष्ठभूमिका नेताहरु उम्मेदवार बन्दा मत बाडिँने देखिन्छ। खड्का सहिद परिवार, जनयुद्धका घाइते तथा लडाकु हुन्।

उनिहरु तीन दलबीच मत ट्रान्सफर हुँदा एमाले र काँग्रेसले आफ्ना मत जोगाएर जाने सके नतिजा फरक आउनसक्ने नेताहरुको आकलन छ। नेकपा एमालेले अगाडी सारेको शाह एमाले कर्णाली प्रदेश अध्यक्ष हुन्। २०७४ र २०७९ को निर्वाचनमा कर्णाली प्रदेशसभा चुनाव लडेका शाह आगामी निर्वाचनमा भाग लिदै छन्।

२०७४ चुनाव को जितेका शाह २०७९ मा भने काँग्रेस, माओवादी र समाजवादी सहितको गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका सुरेश अधिकारीसँग पराजित हुन पुगे।

विगतदेखि सल्यानमा एमाले अर्थात् एमाले पृष्ठभूमीका नेताहरुले जित्दै आएकोमा आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित भएको दाबी गर्छन्। ‘विगतदेखि सल्यान एमालेकोे जनमत बलियो भएको जिल्ला हो’, शाहले भने, ‘२०७९ को निर्वाचनमा समानुपातिकतर्फ हाम्रो पार्टी पहिलो छ।’ नेकपा, रास्वपा लगायतका अन्यदलबीच मत ट्रान्सफरमा प्रतिस्पर्धा चल्दा एमालेले आफ्नो मत जोगाएर नतिजा हात पार्नेमा ढुक्क छ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विष्ट पार्टीको जिल्ला सभापति हुन्। कर्णाली प्रदेशका ९ जिल्लाका सभापतिहरु पार्टीको विशेष महाधिवेशनको विपक्षमा हुँदा उनि एक्दै पक्षमा थिए। जिल्ला समन्वय समितिका पूर्वप्रमुख भइसकेका विष्ट ०७९ को स्थानीय तहको निर्वाचनमा छत्रेश्वरी गाउँपालिका अध्यक्षमा पराजित भएका थिए।

१४ उम्मेदवार मध्ये एक्ली महिला उम्मेदवार हुन् राप्रपाकी अनिशा नेपाली। ०७९ को निर्वाचनमा प्रतिनिधिसभा समानुपातिक सांसद बनेकी उनि अहिले प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन्। ‘संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र नेपाल र संघीयता खारेजी हाम्रो पार्टीका एजेण्डा हुन्’, उनले भनिन्, ‘गैरदलिय स्थानीय तह र प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्ने नारा बोकेर म उम्मेदवार बनेको छु।’

यस्तो छ, अंकगणित
०७४ मा प्रतिनिधि सभामा माओवादीले जितेको थियो। माओवादीका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए।
स्वतन्त्र उम्मेदवार उमाकान्त खनालले तेस्रो नम्बरमा २ हजार ९२१ र मालेका बलबहादुर गिरी २ हजार २९२ मत ल्याएका थिए।

गत निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पूर्वसमाजवादीका नेता प्रकाश ज्वाला बहुमतसहित विजयी भएका छन्। एमालेसँग हुने भनिएको उनको प्रतिस्पर्धा भने ज्वाला विरुद्ध स्वतन्त्र उम्मेदवार बनेका राजेन्द्रबहादुर शाहसँग प्रतिस्पर्धा भयो। तर, ज्वालासँग शाह १५ हजार ९११ मतान्तरले पराजित भए।

ज्वालाले ३५ हजार ७०० मत, स्वतन्त्र उम्मेदवार शाहले १९ हजार ७८९ मत र एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गरे।

स्थानीय निर्वाचन–२०७९ मा कांग्रेसले पाँच वटा पालिकाको नेतृत्व पाउँदा एमाले र माओवादीले दुई–दुई वटा र समाजवादीले एउटा पालिका जितेको छ। यस जिल्लामा कांग्रेसको एउटा पक्ष एमाले र एउटा समुह माओवादीसँग तालमेल गरेर चुनाव लडेका थिए।

१० पालिकामध्ये माओवादीले ३ को प्रमुखमा उम्मेदवार उठाएको थिएन भने कांग्रेस र एमालेले एक–एक वटा पालिका प्रमुखमा उम्मेदवारी दिएको थिएन। समाजवादीले धेरैजसो पालिका प्रमुख पदमा माओवादी र कांग्रेसलाई साथ दिएको थियो।

यस्तै, उपप्रमुखसहितको मतभार जोड्दा कांग्रेसको ४२ हजार १००, माओवादीको ३८ हजार ३८४, एमालेको ३१ हजार ९९४ र समाजवादीको १५ हजार ३११ मतभार संख्या छ।

यस्तै, गत वैशाखमै भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतको अधारमा जिल्लाभर सबै भन्दा धेरै नेपाली कांग्रेसले पाएको छ।

जसमा कांग्रेसले ३३ हजार ६१६ मत पाएको छ भने माओवादीले, २६ हजार ७१३, एमालेले २६ हजार ६२८, समाजवादीले ९ हजार ४६७ मत पाएको छ।

राष्ट्रिय पजातन्त्र पार्टीले २ हजार ११७ र राप्रपा नेपालले १३६ मत मात्रै पाएको छ।

पालिका प्रमुख तथा अध्यक्ष र वडाध्यक्षहरुले पाएको मत हेर्दा काँग्रेस अगाडी देखिए पनि २०७९ निर्वाचनमा समानुपातिकमा नेकपा एमाले पहिलो छ। एमालेले चुनाव जित्ने पहिलो आधार यसै जनमतलाई मानेको छ। एमालेले २२ हजार २५६ भोट पाएको छ। दोस्रोमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले २१ हजार ३२५ मत छ।

पालिका तथा वडाध्यक्षले पाएको मतका आधारमा सल्यानमा पहिलो दल बनेको नेपाली काँग्रेस १९ हजार ९६६ मतसहित समानुपातिकको तेस्रो स्थानमा छ।

त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ५ हजार ९७०, राष्ट्रिय स्वतन्त्र पार्टी ४ हजार ५२२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३०८ मत पाएको थियो।

१ लाख ६२ हजार ४४९ मतदाता संख्या रहेको सल्यानमा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएका छन्। आगामी निर्वाचनमा सल्यानबाट कस्तो प्रतिनिधि चुन्ने मतदाताकै हातमा छ।