सामाजिक संजाल:

२०८२ फाल्गुन २९, शुक्रबार

भुवनेश्वर (उडिसा, भारत)। भारतको उडिसा राज्यस्थित भुवनेश्वरमा ‘ग्रासरूट एण्ड फ्रुगल इनोभेसन इन इमर्जिङ इकोनोमीज’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलन भव्य रूपमा उद्घाटन भएकाे छ। भारतको बिरला ग्लोबल युनिभर्सिटी र नेपालको मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतको सहकार्यमा आयोजित तीनदिने सम्मेलनको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले पानसमा बत्ती बालेर गरेका हुन्।

उद्घाटन सत्रमा सम्मेलनका अध्यक्ष प्रा. डा. सुवेन्दु कुमार प्रतिहारिले स्वागत मन्तव्य राख्दै सम्मेलनको उद्देश्य र विषयवस्तु प्रस्तुत गरे। उनले विकासशील अर्थतन्त्रहरूमा तल्लो तहबाट उत्पन्न हुने नवप्रवर्तन तथा सस्तो र व्यवहारिक नवप्रवर्तनको महत्वबारे प्रकाश पार्दै अनुसन्धान, उद्यमशीलता र स्थानीय ज्ञानको समन्वय आवश्यक रहेको बताए।

कार्यक्रममा सिरक्युज युनिभर्सिटी (अमेरिका) अन्तर्गत ‘अर्ल भी. स्नेडर इनोभेसन म्यानेजमेन्ट सेन्टर’ का निर्देशक प्रो. एस. पी. राजले विश्वव्यापी नवप्रवर्तनको वर्तमान प्रवृत्ति तथा विश्वविद्यालय–उद्योग सहकार्यको महत्वबारे चर्चा गरे। त्यसैगरी स्क्याननेक्सट साइन्टिफिक टेक्नोलोजिज प्राइभेट लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजत वर्धनले नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा आफ्ना अनुभव साझा गरे।

उद्घाटन सत्रको प्रमुख आकर्षणका रूपमा आईआईएम अहेमदावादका प्रा. डा. आनन्द कुमार जैसवालले मुख्य वक्तव्य प्रस्तुत गरे। उनले उदीयमान अर्थतन्त्रहरूमा स्थानीय स्रोत र ज्ञानमा आधारित नवप्रवर्तनले दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले नेपाल र भारतबीचको शैक्षिक तथा अनुसन्धान सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता अन्तर्राष्ट्रिय सम्मेलन महत्वपूर्ण हुने बताए। उनले विशेष गरी ग्रासरुट नवप्रवर्तन, स्थानीय ज्ञान तथा उद्यमशीलता विकासका क्षेत्रमा संयुक्त अनुसन्धान र सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यसैगरी बिरला ग्लोबल युनिभर्सिटीका उपकुलपति प्रा. डा. कुलभूषण बलूनीले सम्मेलनले नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गरे।

उद्घाटन सत्रकै क्रममा मध्यपश्चिम विश्वविद्यालय, नेपाल र बिरला ग्लोबल युनिभर्सिटी, भारतबीच शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने उद्देश्यले आपसी सम्झौतापत्रमा हस्ताक्षर गरियो। सो अवसरमा सम्मेलन कार्यवृत्त सार्वजनिक गरियो तथा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान पनि गरियो।

कार्यक्रमअन्तर्गत सहभागीहरूले विभिन्न अनुभव आदान–प्रदान सत्र, नवप्रवर्तनसम्बन्धी प्रस्तुति तथा छलफल कार्यक्रमहरूमा सहभागिता जनाए। सम्मेलनमा नेपाल, भारत लगायत विभिन्न देशका प्राध्यापक, अनुसन्धानकर्ता, उद्यमी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको छ।

उक्त अवसरमा मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. शोभाखर कँडेल, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवाली, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्का तथा उपकुलपति कार्यालयका सचिवालय प्रमुख एवम् व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख उपप्राध्यापक खेमराज रावतले नवप्रवर्तन र आइडिया पिचिङ सत्रको मूल्यांकन गर्ने जिम्मेवारी निर्वाह गरेका थिए।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट कार्यपत्र प्रस्तुत गर्नेमा उपप्राध्यापकहरू बेद प्रकाश ढकाल, गिताराम ढकाल, आशिष बराल, हरेन्द्र केसी, रमेश प्रसाद गौतम तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष विवेक खड्का लगायत सहभागी रहेकाे थियाे।

सम्मेलनको पहिलो दिनको साँझ मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट देउडा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो भने बिरला ग्लोबल युनिभर्सिटीको तर्फबाट स्थानीय संस्कृति तथा शास्त्रीय नृत्य प्रस्तुत गरियो।

तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा नवप्रवर्तन, उद्यमशीलता, दिगो विकास तथा उदीयमान अर्थतन्त्रमा स्थानीय प्रविधिको प्रयोग जस्ता विषयमा विभिन्न शैक्षिक सत्र, कार्यपत्र प्रस्तुति तथा छलफल कार्यक्रम सञ्चालन हुनेछन्।

साथै मध्यपश्चिम विश्वविद्यालय र बिरला ग्लोबल युनिभर्सिटीको संयुक्त आयोजनामा सन् २०२६ अप्रिल २४ देखि २६ सम्म सुर्खेतमा अर्को अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने जानकारी दिइएको छ।