२०८३ आश्विन ७, बुधबार

दिपक रिजाल

नेकपा एमाले दैलेख जिल्ला पार्टी नेतृत्व पनि अहिले उठिरहेका विभिन्न प्रश्नको घेराभन्दा बाहिर छैन। राजनीतिलाई व्यवसाय वा सम्प्रदायका रूपमा हेर्ने प्रवृत्ति दुःखद हो। पार्टीभित्र व्यक्तिवादी चरित्र हाबी हुँदै जानु र युवा पुस्ताप्रति नेतृत्वको दृष्टिकोण संकीर्ण हुनु गम्भीर विषय हो।

पार्टीमा काम गर्छु, योगदान गर्छु भनेर अघि बढ्न खोज्नेहरूले उचित जिम्मेवारी नपाउने तर केही व्यक्तिले नेताको टिकट काटेकै भरमा, रेस्टुरेन्टमा चिया–कफी खुवाएकै भरमा नेतृत्वको अवसर पाउने प्रवृत्ति देखिनु संगठनात्मक मूल्य र मान्यताका दृष्टिले उचित हुन सक्दैन। यस्ता विषयमा दैलेख जिल्ला पार्टी नेतृत्व पनि प्रश्नभन्दा बाहिर रहन सक्दैन।

पार्टी नेतृत्वबाट भएका कमजोरी र कमीकमजोरीबारे पार्टीभित्रै गम्भीर समीक्षा र बहस आवश्यक छ। नेतृत्वले गरेका गल्ती तथा कमजोरीलाई सचेत गराउने, खबरदारी गर्ने र आवश्यक पर्दा प्रश्न गर्ने ल्यागत कार्यकर्ताले राख्नुपर्छ। किनकि हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढिरहेका छौँ। जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने मान्यता अघि सारेको छ।

त्यसैले पार्टीलाई व्यक्ति केन्द्रित नभई सामूहिकता, विचार, नीति, विधि र मूल्य–मान्यताका आधारमा सञ्चालन गर्नुपर्छ। वृद्ध, युवा तथा जेन्जी पुस्ताका सबै साथीहरूलाई पार्टीभित्र देखिएका समस्या र चुनौतीलाई निराशाका रूपमा मात्र नहेरी सुधारको अवसरका रूपमा लिन आग्रह गर्दछु।

हामी सबैको पसिना र योगदानबाट निर्माण भएको पार्टी नेकपा एमाले हो। पार्टी कसैको व्यक्तिगत सम्पत्ति होइन। यसलाई बलियो बनाउने, लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित बनाउने र संगठनलाई जीवन्त राख्ने जिम्मेवारी पनि हामी सबैको हो।

निराशाबाट भागेर समस्या समाधान हुँदैन। बरु आशाको किरण जगाउँदै समस्या र चुनौतीको डटेर सामना गर्नुपर्छ। विशेषगरी युवा तथा जेन्जी पुस्ताका साथीहरूले भावनामा बगेर होइन, ठन्डा दिमागले सोच्न आवश्यक छ।

आफ्नै घरमा आगो लगाएर छिमेकीको घरमा चोरी गर्न हिँड्दा अन्ततः अरूको घरसँगै आफ्नो घर पनि सुरक्षित रहँदैन। त्यसैले पार्टीभित्रका असहमति र कमजोरीलाई विधिसम्मत ढंगले समाधान गर्दै संगठनलाई थप मजबुत बनाउनु आजको आवश्यकता हो।

पार्टी नेतृत्वलाई खबरदारी गरौँ, कमजोरी सच्याउन दबाब दिऔँ र सकारात्मक सुधारका लागि सामूहिक आवाज उठाऔँ। निराशाबाट भाग्ने होइन, आशाको दियो जगाएर पार्टीलाई सही मूल्य–मान्यतामा फर्काउने अभियानमा एकताबद्ध होऔँ।

प्रिय युवा साथीहरू, जेन्जी पुस्ताका साथीहरू तथा सम्पूर्ण कमरेडहरू, पार्टीलाई बलियो बनाउन हाम्रो सामूहिक एकता अपरिहार्य छ। हामी सबैको रगत, पसिना र योगदानबाट बनेको पार्टीलाई जोगाउने र अघि बढाउने दायित्व पनि हामी सबैको हो।

नेकपा एमाले जिन्दावाद !