२०८२ आश्विन ७, मंगलवार

सुर्खेत । रत्न राजमार्ग अन्तरगत सुर्खेतको भेरीगंगा नगरपालिकामा सडक दुर्घटना हुँदा एक जना मृत्यु भएको छ। रत्न राजमार्ग अन्तरगत छिन्चु–धुलियाविट सडक खण्डको पाडुलेमा ट्रकले मोटरसाइकललाई ठक्करदिँदा भाइको मृत्यु र दाइ घाइते भएका हुन्।
बाँकेको कोहलपुर नगरपालिका–२ प्रेमनगरका अन्दाजी १८ वर्षीय ऋतिक शाहीले चलाएको लुम्बिनी प्रदेश ०३–००१ प ३६३१ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले ऋतिक शाहीले चलाएको सवारीलाई ना ५ ख ५६०८ नम्बरको ट्रकले ठक्कर दिएको जानकारी दिए। प्रहरीकाअनुसार मोटरसाइकल चालक ऋतिकको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा निधन भएको हो।

सोमबार दिउँसो भएको उक्त सवारी दुर्घटनामा मोटरसाइकल पछाडी अछामको पञ्चदेवल नगरपालिका–४ का १९ वर्षीय दमन शाही सवार थिए। दुर्घटनामा उनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

दमन शाही र ऋतिक शाही भाइ÷भाइका छोराहरु हुन्। नातामा ऋतिक भाइ हुन् भने दमन दाइ हुन्। पुख्र्यौली घर अछाम भए पनि उनिहरुको घर कोहलपुरमा पनि छ।
घाइते दमनका बुबा अमर शाहीले दुई भाई (ऋतिक र दमन) दसैँका लागि पुख्र्यौली घर अछाम आउँदै गर्दा उर्घटनामा परेको  जानकारी दिए।

अमर शाही शिक्षक पेसामा कार्यरत छन्। गाउँकै एक विद्यालयमा पढाउँछन्।

अमरले दसैँको समयमा सबै परिवारहरु अछामको घरमा जम्मा भएर चाडपर्व मनाउने गरेको बताए। सोही अनुसार अमरका कोहलपुरमा बसेका छोराहरुलाई मोटरसाइकलमा गाउँ फर्किदै थिए।
घाइते दमनको प्रदेश अस्पताल कालागाउँमा सामान्य उपचारपछि थप उपचारका लागि सोमबार रातीनै भारतको लखनउ रेफर गरिएको छ। उनको दुईवटै खुट्टा, टाउँको र हातमा गम्भीर चोट लागेको उनका बुवा अमरले जानकारी दिए।

यस्तै, मृतक ऋतिकको शव पोष्टर्माटमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ भने आफन्तहरु अस्पताल पुगिसकेका छन्। कागजी प्रक्रिया टुंगाएर अन्त्येष्टिका लागि शव लगिने अमरले बताए।
यस्तै, प्रहरीले मोटरसाइकलाई ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।