२०८२ कार्तिक ९, आईतवार

काठमाण्डाै । नवनियुक्त दुई जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ ग्रहण गराएका हुन्।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिश गरेकी थिइा्। तर अदालतमा मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिश सुनारको नाम हटाइन्।

यस्तै भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिश गरिएका श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको छ। श्रेष्ठको नाम फिर्ता हुनुको कारण खुलाइएको छैन्।

योसहित कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। अब मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ। आज नियुक्त स्वास्थ्यमन्त्री गाैतम प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवम् भूतपूर्व स्वास्थ्यसचिव हुन भने युवामन्त्री गुप्ता परोपकारी सङ्गठन हन्ड्रेड ग्रुपका संस्थापक हुन।