सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मन्त्रालय महातहका कार्यालयहरुलाई पुँजीगत बजेट बढाउन निर्देशन दिएका छन्। आइतबार (माघ ४) गते भएको मन्त्रालय मातहतका कार्यलयहरुको दोस्रो त्रैमासिक तथा अर्धबार्षिक प्रगति समीक्ष गोष्ठिमा बोल्दै मन्त्री शाहले निर्देशन दिएका हुन।
मन्त्री शाहले कार्यविधी, निर्वाचन लगायतका बाहना बनाएर नबस्न कर्मचारीहरुलाई अनुरोध गरे। उनले भने, ‘आगामी फागुन २१ मा हुने निर्वाचन र आचारसंहिताले हाम्रा नियमित कार्यक्रमहरुलाई प्रभवित पार्दैन्। नयाँ काम गर्नका लागि मात्रै समस्या हो। अन्य नियमित कार्यक्रमहरु कार्यन्वयनमा लैजान कुनै ढिलो नगुर्नहोस्।’
यस्तै, मन्त्री शाहले मन्त्रालयबाट विनियोजित भएका ३० लाख भन्दामाथिका पूर्वाधारतर्फका योजनाहरुको टेन्डरबाट सम्पन्न गर्न अनुरोध गरे। साथै उनले मन्त्रालय मातहतका कार्यालयहरुले मन्त्रालयसँग समन्वयन गरेर काम गर्न पनि सुझाव दिए।
माघ ३ गतेसम्म भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पुँजीगततर्फ ३.५४ प्रतिशत, चालुतर्फ ११.३४ प्रतिशत गरी जम्मा ९.३९ प्रतिशत बजेट कार्यान्वयन भएको छ।

