कालीकोट। कर्णाली प्रदेशको कालीकोट जिल्लाअन्तर्गत पर्ने शुभकालिका गाउँपालिका–भर्ता गाउँ प्राकृतिक सुन्दरता, पहाडी भौगोलिक बनावट र परम्परागत ग्रामीण जीवनशैलीका कारण परिचित छ। हरियाली डाँडाकाँडा, खेती र टाढाटाढा देखिने बस्तीहरूले भर्ता गाउँलाई आकर्षक बनाएको छ।
भर्ता गाउँमा अधिकांश बासिन्दा कृषि र पशुपालनमा निर्भर छन्। मकै, कोदो, गहुँ, जौ र आलु यहाँका प्रमुख कृषि उपज हुन्। परम्परागत खेती प्रणाली अझै पनि प्रचलनमा रहेकाले उत्पादन सीमित भए पनि स्थानीय समुदाय आत्मनिर्भर बन्ने प्रयासमा जुटिरहेको देखिन्छ।
भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित भर्ता गाउँमा सडक, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवा अझै चुनौतीपूर्ण अवस्थामा छन्। वर्षायाममा आवतजावत कठिन हुने र सेवा–सुविधामा पहुँच सीमित हुँदा स्थानीय बासिन्दाले विभिन्न समस्या भोग्दै आएका छन्। यद्यपि पछिल्ला वर्षहरूमा गाउँपालिकाको पहलमा आधारभूत पूर्वाधार विस्तारका प्रयासहरू अघि बढेका छन्।
प्राकृतिक स्रोत, मनमोहक दृश्य र मौलिक संस्कृति भर्ता गाउँका महत्वपूर्ण पहिचान हुन्। उचित योजना, पूर्वाधार विकास र सरकारी तथा गैरसरकारी सहयोग प्राप्त भएमा भर्ता गाउँ कृषि, ग्रामीण पर्यटन र स्थानीय उद्यम विकासको राम्रो सम्भावना बोकेको क्षेत्रका रूपमा अघि बढ्न सक्ने स्थानीयको विश्वास छ।
तस्बिरहरु : पत्रकार खडानन्द अधिकारी




