विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिन टोली सोमबार राति मोरङको विराटनगर आइपुगेको छ।
गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वको समिति सोमबार राति नै विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।
समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन पनि गरिरहेको छ।
समितिले कप्तानञ्ज समेत पुगेर घटनास्थलको निरीक्षण गर्ने छ। प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा छानबिन प्रतिवेदन तयार पार्ने छ।
सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा गृह मन्त्रालयमा बसेको बैठकले सहसचिव थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

