काठमान्डौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। सोमबार बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्।
साउन ६ गते नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो।
बहुमत सदस्यको समर्थन प्राप्त हुने अवस्था नदेखिएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।
बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन् । बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) का दुई गरी ३८ सांसदको मात्रै समर्थन देखिएपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिने घोषणा गरेका हुन्।
बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । आफ्नै दलभित्र शक्ति प्रदर्शन गर्दै प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका बानियाँ एक वर्ष नपुग्दै सत्ताबाट बाहिरिएका छन्।
प्रदेश सभालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा प्रदेशवासीको हितमा धेरै काम गरेको दाबी गरे। अझै धेरै काम गर्न बाँकी रहे पनि राजनीतिक परिवेशका कारण राजीनामा दिनुपरेको उनले बताए।
उनले संवैधानिक तथा संसदीय व्यवस्थाअनुसारको अभ्यास र संसदीय मर्यादा कायम गर्ने विषयमा अझै केही कुरा व्यवस्थित गर्न बाँकी रहेको बताए।

