क्यानबेरा। अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ।
बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार अर्थशास्त्रीहरूले दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी बढेको हो।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार जुनदेखि जुलाईसम्म रोजगारीमा रहेका व्यक्तिको संख्या १५ हजार ८०० घट्दा बेरोजगारको संख्या चार हजार २०० ले बढेको छ।
जुलाईको बेरोजगारी दर सन् २०२१ को नोभेम्बरपछि उच्चमध्ये एक हो। एबीएसका श्रम तथ्यांक प्रमुख सिन क्रिकका अनुसार जुलाईमा पुरुषको रोजगारी ११ हजार र महिलाको पाँच हजार घटेको छ।
आंशिक समय काम गर्ने महिलाको संख्या २२ हजारले घटे पनि पूर्ण समय काम गर्ने महिलाको संख्या १७ हजार बढेको उनले बताए।
यस अवधिमा कुल काम गर्ने समय शून्य दशमलव ६ प्रतिशत घटेर एक अर्ब ९९ करोड घण्टामा झरेको छ।
रोजगारीमा रहेका वा काम खोजिरहेका काम गर्ने उमेर समूहको सहभागिता दर पनि जुनको ६७ प्रतिशतबाट घटेर जुलाईमा ६६.९ प्रतिशतमा पुगेको एबीएसले जनाएको छ।

