दैलेख। साविकमा करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका करसम्बन्धी सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउने नेपाल सरकारको निर्णयअनुसार दैलेखको महाबु गाउँपालिकामा करदाता सेवा सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
नेपाल सरकारको गत कात्तिक १७ गतेको निर्णयबमोजिम आन्तरिक राजस्व कार्यालय, सुर्खेत र महाबु गाउँपालिका, दैलेखबीच करदाता सेवा प्रवाहसम्बन्धी समझदारीपत्र (एमओयू) मा सोमबार हस्ताक्षर भएको हो।
समझदारीपत्रमा महाबु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्याय र आन्तरिक राजस्व कार्यालय, सुर्खेतका प्रमुख कर अधिकृत चक्रप्रसाद ढुङ्गानाले हस्ताक्षर गरेका हुन्।
समझदारीसँगै महाबु गाउँपालिकाका नागरिक तथा करदातालाई करसम्बन्धी सेवा लिन सुर्खेत पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध भएपछि समय र खर्चको बचत हुनुका साथै करदाता सेवा थप सहज र प्रभावकारी हुने विश्वास गरिएको छ।
आवश्यक पूर्वतयारी तथा व्यवस्थापनका काम पूरा गरेपछि महाबु गाउँपालिकाबाटै करदाता सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइने बताइएको छ।

