Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
दोस्रो अभ्यास खेलमा पनि नेपालको जित - oasiskhabar

२०८२ आश्विन २१, मंगलवार

काठमाडौं । नेपालले आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि नेपालले जित निकालेको छ। सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो।

नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन मात्र बनाउन सक्यो। कतारका मुहम्मद तनभिरले ५१ रनको अर्धशतकीय पालि खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै कप्तान मिर्जा बेगले ४० र मोहमद असिमले ३० रन बनाए। नेपालका करण केसीले तीन विकेट लिए। यस्तै नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक/एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७० रनको योगफल खडा गरेको थियो। नेपालका कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पालि खेलेका थिए। आक्रामक ब्याटिङ गरेका उनले ३३ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे। यस्तै दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान ३८, आरिफ शेखले १३ र आसिफ शेखले ११ रनको योगदान दिए। कतारका मुनिर साद र इक्रमुल्लाह खानले दुई/दुई विकेट लिँदा आरिफ उल्लाह र मुजिबउर रहमानले एक/एक विकेट हात पारेका थिए।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेलेको थियो। वेस्ट इन्डिजलाई २–१ ले हराउँदै नेपालले ऐतिहासिक शृंखला जितेको थियो। यही शृंखलाको उत्साह बोकेर नेपाली टोली ओमान पुगेको हो।

आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूह ‘बी’मा नेपालले कुवेतसँग बुधबार र जापानसँग शुक्रबार खेल्नेछ।

आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नौ टोलीले प्रतिस्पर्धा गर्ने छन्। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा मलेसिया, कतार र यूएई छन्। यस्तै समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोअ छन्। समूहको शीर्ष दुईमा रहने टोलीले सुपर सिक्समा स्थान बनाउने छ। सुपर सिक्सबाट शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेछ।

नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ शेख, मोहमद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललितनारायण राजवंशी, गुलसन झा, सोमपाल कामी।