एनपिएल

कर्णाली याक्सले प्रदेशका विभिन्न शहर र धार्मिक स्थलहरुमा दुइ दिने ट्रफी यात्रा गर्ने

२०८२ कार्तिक १७, सोमबार

सुर्खेत । कर्णाली याक्स स्पोट्र्स प्रालीले ट्यालेन्ट हन्टको आयोजना गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न लागेको हो।

कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले ट्यालेन्ट हन्ट सोमबार बिहान ७ बजेबाट सुर्खेतको वीरेन्द्रनगरमा रहेको इन्डोर हलमा सुरु भएको बताए।

बस्नेतका अनुसार सय भन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी हुन निवेदन दिएका छन्। उनले भने, ‘हामीले खुलाएको दर्ता फारममार्फत मात्रै दुई सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक देखिनुभएको छ। फारम भर्न कोही छुट्नु भएको छ भने पनि हामी उहाँहरुलाई ट्यालेन्ट हन्टमा सहभागी गराउने छौं।’

यस्तै, ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न शहर र धार्मिक स्थलहरुमा ट्रफी यात्रा गर्ने तयारी गरेको छ। ट्रफी यात्रालाई कर्णाली प्रदेश क्रिकेट एसोसिएसनले सहजीकरण गर्नेछ।

याक्सका अनुसार कार्तिक १८ र १९ गते मंगलबार र बुधबार दुई ट्रफी यात्रा गर्ने छ। पहिलो दिन सुर्खेतको भेरीगंगा नगरपालिकाको केन्द्र छिन्चु बजारदेखि सुरु भएर मेहलकुना बजार, सल्यानको कुपिन्डेदह हुँदै सदरमुकाम खलंगा बजारसम्म हुनेछ।

यस्तै, दोस्रो दिन अथात् कार्तिक १९ गते बुधबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ को काँक्रेविहारबाट सुरु भएर यरी चोक, बांगेसिमल चोक, गणेश चोक, वीरेन्द्रनगर चोक, शंकर चोक, देउतीबज्यै चोक, मंगलगढी चोक हुँदै कर्णाली प्रदेश रंगशालामा पुगेर ट्रफी यात्रा सकिने कर्णाली याक्सले जनाएको छ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिनप्रसाद शर्मा यसपटक कर्णाली याक्समै रिटेन भएका छन्। उनी पहिलो संस्करणको प्रतियोगिताको उदयीमान खेलाडी घोषित भएका थिए। आज हुने ट्यालेन्ट हन्टमा सहभागी भएका विपिनले आफूजस्तै अर्को ट्यालेन्ट आउनेमा आशावादी रहेको बताएका छन्।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको हो।

अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।

यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। जसमा अस्ट्रेलियाका विलियम बोसिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको छ।