२०८२ आश्विन २२, बुधबार

काठमाडौं । ओमानमा आजदेखि आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको रिजनल फाइनल सुरु भइसकेको छ। नेपालसहित ९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काट्ने छन्।

आफ्नो पहिलो खेलमा नेपालले आजै बेलुका कुवेतको सामना गर्दैछ । नेपाल विजयी सुरुवात गर्दै अघिल्लो चरणमा स्थान पक्का गर्न चाहन्छ।

नेपालको टोलीमा सन् २०२२ मा भएको विश्वकप छनोटमा खेलेका र अघिल्लोपटक सन् २०२३ को छनोटमा पनि खेलेर नेपाली टोलीलाई विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका खेलाडीहरू अहिले पनि छन्।

यस्तै सन् २०२२ को छनोटमा खेलेका ज्ञानेन्द्र मल्ल हाल नेपाली टोलीको सहायक प्रशिक्षकका रूपमा छन्। नेपाल सन् २०२२ को छनोटमा यूएईसँग पराजित भएर विश्वकपमा छनोट हुन सकेको थिएन।

त्यसपछि सन् २०२३ मा भने घरेलु मैदानमै भएको छनोटमा नेपालले यूएईलाई नै हराएर विश्वकपको टिकट काटेको थियो।

लगातार तीनपटक छनोटमा खेल्ने खेलाडीहरू

नेपालका लागि हाल विश्वकप छनोटमा खेल्दै गरेका ८ जना खेलाडीहरू सन् २०२२ को छनोटमा पनि खेलेका थिए। त्यसमा तत्कालीन कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र लोकेश बम छन्।

यस्तै सन् २०२४ को टी-२० विश्वकपका लागि २०२३ मा भएको छनोटमा खेलेका यी ८ जनाबाट लोकेश बम बाहिरिँदा रोहित पौडेल, ललित राजवंशी, सन्दीप जोरा र गुल्शन झा समावेश भए।

त्यसबेला खेलेका यी ११ खेलाडी हालको टिममा पनि छन्। सोमपालबाहेक सबै खेलाडीहरूले पहिलोपटक विश्वकप पनि खेल्ने मौका पाए।

सोमपाल कामी भने नेपालका लागि दुवै विश्वकप खेल्ने एकमात्र खेलाडी हुन्।

पहिलोपटक खेल्नेहरू

नेपालको टोलीमा यसपालि पहिलोपटक विश्वकप छनोट खेल्ने मौका पाएका दुई खेलाडीहरू छन्। मोहम्मद आदिल आलम र नन्दन यादवले पहिलोपटक नेपालका लागि विश्वकप छनोटमा खेल्दै छन्।

अघिल्ला वर्षहरूमा आदिल आलम प्रतिबन्धमा थिए भने नन्दन अस्ट्रेलियामा बसोबास गर्दै आएका थिए। उनीहरू दुवैका लागि पहिलोपटक विश्वकप खेल्ने मौका पनि अब छ। दुवै खेलाडीहरू विश्वकपमा छनोट हुनेमा विश्वस्त पनि छन्।

२०२३ को छनोट खेल्ने टोलीमा समावेश नभएका लोकेश यसपटक फेरि टोलीमा फर्किएका छन्।