काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटक एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो।
क्यानका सचिव पारस खड्काले यसअघि एनपीएलमा पहिलोपटक डीआरएस ल्याउने पहल भइरहेको बताएका थिए। दुई कम्पनीसँग प्रविधिको परीक्षण सम्पन्न भइसकेको र अब त्यसको तथ्यपरकता (एक्युरेसी) मूल्यांकनपछि अन्तिम निर्णय गरिने कुरा पारसले उल्लेख गरेका थिए।
डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो। यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ।
क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोग हुनेछ।
त्यस्तै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ।
यस्तै एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुनेछ।





