२०८३ कार्तिक ६, बिहीबार

काठमाडौँ। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि अमेरिकाका अनुभवी अलराउन्डर शाड्ली भान स्काल्कविकलाई टोलीमा अनुबन्ध गरेको छ।

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा अमेरिकाको प्रतिनिधित्व गर्दै उत्कृष्ट बलिङ प्रदर्शन गरेका स्काल्कविकले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र अलराउन्ड क्षमतामार्फत लुम्बिनी लायन्सको टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

टी–२० विश्वकप २०२६ मा १३ विकेट लिएका स्काल्कविक प्रतियोगिताका सर्वाधिक विकेट लिने बलरमध्ये अग्रस्थानमा रहे। उनले प्रतियोगितामा चार इनिङ्समा १३ विकेट लिँदै एसोसिएट राष्ट्रका खेलाडीले एउटै टी–२० विश्वकप संस्करणमा लिएको सर्वाधिक विकेटको कीर्तिमानमा नेदरल्यान्ड्सका बास डे लिडेसँग बराबरी गरे। उनको औसत ७.७६ रहेको थियो।

विश्वकपमा स्काल्कविकको प्रदर्शन विशेषगरी भारत र पाकिस्तानविरुद्ध उल्लेखनीय रह्यो। उनले भारतविरुद्ध २५ रन खर्चेर चार विकेट लिएका थिए। त्यसपछि पाकिस्तानविरुद्ध पनि उनले समान २५ रन खर्चेर चार विकेट लिँदै आफ्नो प्रभावशाली बलिङलाई निरन्तरता दिए।

लगातार दुई बलिया क्रिकेट राष्ट्रविरुद्ध देखाएको उनको प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा उनको बलिङ क्षमतालाई थप स्थापित गरेको छ। दक्षिण अफ्रिकामा जन्मिएका स्काल्कविकले घरेलु क्रिकेटमा फ्रि स्टेट र नाइट्सजस्ता टोलीबाट खेल्दै लामो अनुभव हासिल गरेका छन्।

उनले अमेरिकाको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा समेत प्रतिनिधित्व गरिसकेका छन्। दायाँहाते मिडियम बलिङ र बायाँहाते ब्याटिङ गर्ने उनी बलिङसँगै ब्याटबाट पनि योगदान दिन सक्ने खेलाडी हुन्।

स्काल्कविकले अमेरिकाका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १७ विकेट लिएका छन् भने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको विकेट संख्या २८ पुगेको छ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट बलिङ प्रदर्शन २५ रन खर्चेर चार विकेट रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेटबाहेक उनले फ्रेन्चाइज क्रिकेटमा पनि अनुभव बटुलेका छन्।

लुम्बिनी लायन्समा उनको आगमनले टोलीको बलिङ विकल्पलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। विश्वकपजस्तो ठूलो प्रतियोगितामा दबाबपूर्ण परिस्थितिमा प्रदर्शन गरिसकेका स्काल्कविकले एनपीएलमा आफ्नो अनुभव, अनुशासन र खेल कौशलमार्फत लायन्सको उपाधि यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्य राख्नेछन्।