सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री अन्तर्गत बीएस्सी एग्रिकल्चर अध्ययनरत विद्यार्थीहरुका लागि इन्टर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार कर्णाली प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विनोदकुमार शाहको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमको विशिष्ट अतिथ्यतामा अभिमुखीकरण सम्पन्न भएको हो।
ग्र्याजुएट स्कुलका डिन प्रा चन्देश्वरप्रसाद श्रीवास्तवज्यूको अध्यक्षता भएको उक्त कार्यक्रममा कृषि विषयमा अध्ययनरत बीएस्सी एग्रिकल्चर आठौँ सेमेस्टरका ४४ जना विद्यार्थीहरूलाई इन्टर्नसिप संग सम्बन्धित जानकारी प्रदान गरिएको थियो।
पाँच महिनाको इन्टर्नसिप कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, लिबर्ड र साहास नेपालको आर्थिक सहयोगमा हुनेछ।

रामघाट स्थित ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मतकुमार श्रेष्ठज्यू, अन्य संस्थाका प्रतिनिधि, पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
इन्टर्नसिप अवधिमा विद्यार्थीहरू तोकिएका विभिन्न कृषि विकास कार्यालयहरूमा खटिइ अनुसन्धान कार्यमा संलग्न हुनेछन्।
यस कार्यक्रमले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै वास्तविक तथा समसामयिक समस्याहरूको समाधान गर्ने क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।





