काठमाडौँ। नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ।
दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्।
काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ। विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन्।
यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएको छ।
चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ। तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेसिने युवाको सङ्ख्या बढ्दो छ।
अन्तरराष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ।
आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आमप्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ।
यसैबीच, रोजगारीका लागि विदेसिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए।
शिक्षा, स्वास्थ्यको व्यवस्थासहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेसिने गरेको उनको भनाइ छ।
विमानस्थलमै भेटएका गुल्मीका प्रकाश खत्री स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा आफ्नो भविष्य निर्माणका लागि युवा पुस्ताको विदेश रोजाइ हुने गरेको बताए।
यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आएका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पु¥याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेसिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुनसक्ने बताए।
दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उनको चिन्ता छ।





