सामाजिक संजाल:

२०८२ फाल्गुन २३, शनिबार

सुर्खेत। दैलेख निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन्। पोखरेलको जितसँगै नेकपा एमालेले कर्णाली प्रदेशबाट खाता खोलेको छ।

देशैभर रास्वपाको पक्षमा नतिजा आउँदा दैलेख–२ बाट निर्वाचित हुँदै पोखरेल एमाले पार्टीबाट विजयी हुने तेस्रो व्यक्ति बनेका छन्। यसअघि बाँके–२ बाट मोहम्मद ईश्तियाक राई र बझाङबाट ऐनबहादुर महर निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत लोकहरी कँडेलले एमालेका पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित भएको जानकारी दिए। पोखरेलले नेपाली कांग्रेसका दिक्पालकुमार शाहीलाई ४ हजार ३३७ मतान्तरले हराए। कांग्रेका शाहीले ९ हजार ५५२ मत मात्रै प्राप्त गरे।

यस्तै, रास्वाका बखतबहादुर शाहीले ६ हजार ७९७ मत प्राप्त गर्दै तेस्रो बने। नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत प्राप्त गरे।

गत निर्वाचनमा १६७ मतको हारको बदला!

दैलेख निर्वाचन क्षेत्र नम्बर–२ लाई एमालेको गढ मानिन्छ। २०७४ मा भएका स्थानीय र संसदीय दुवै निर्वाचनमा यहाँ एमालेका उम्मेदवार विजयी भएका थिए। तर, २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजित कांग्रेसका उनै शाहीले एमाले र नेकपा एकीकृत समाजवादीसमेतको गठबन्धनबाट उम्मेदवार बनेर गढ भत्काइदिए। अर्थात् अहिले निर्वाचित भएका एमालेका पोखरे हारे।

त्यतिबेला शाहीले २० हजार १८३ मत प्राप्त गर्दा पोखरेलले २० हजार १६ मत ल्याएका थिए।

अहिले एमालेका पोखरेलले २०७४ को आफ्नो साख फर्काएका छन्।

२०१९ सालमा जन्मिएका एमाले उम्मेदवार पोखरेल विद्यार्थीकाल २०३५ सालदेखि राजनीतिमा सक्रिय भएका थिए। २०३८ सालमा पार्टीको सदस्यता लिएका उनी २०४३ सालमा छिउडीपुसाकोट पञ्चायतको अध्यक्षमा निर्वाचित भएका थिए।

‘२०४९ सालमा छिउडीपुसाकोट पञ्चायतको अध्यक्षमा निर्वाचित भई लोकतन्त्र स्थापनाका लागि विभिन्न समयसम्म जेलनेलसमेत भोगे, पोखरेलले नेपालखबरसँग भने, ‘विगतदेखि अहिलेसम्म विचलित नभई पार्टीका गतिविधिमा पनि उतिकै सक्रिय भएकाले पार्टीले टिकट दियो, दैलेखी जनताले जिताए।’

यस्तै, पोखरेलले २०७० सालमा संविधान सभाको सदस्य पनि बनेर संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यसपटक उनी कांग्रेसका शाहीसँग अघिल्लो हारको बदला लिदै दोस्रो पटक संसद छिरेका छन्।