सुर्खेत। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको सुधार भन्दा पनि गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएका छन्।
शिक्षा विकास निर्देशनालयमा भइरहेको एसइई व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले विद्यालय शिक्षा सुधारका लागि सबै तहले जिम्मेवार बन्नुपर्ने बताएका हुन्।
शिक्षा ऐन लाई मात्र देखाएर कतिपय सामान्य कामहरु पनि हुन नसकिरहेको टिप्पणी गर्दै सबैले आफ्नो भूमिका अनुसारको जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
परीक्षाको नतिजा परीक्षा सञ्चालन व्यवस्थापनको आधारमा हुने गरेकाले सोही बमोजिम सञ्चालन गर्न सुझाव दिए। केवल नतिजाले मात्र शिक्षाको गुणस्तर मापन नहुने भएकोले गुणस्तरीयता प्रमुख हुने जिकिर गरे।
शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश तहबाट विभिन्न कामहरु भइरहेको जनाउँदै आगामी दिनमा गर्नुपर्ने नीतिगत कामहरू गरिने प्रतिवद्धता जनाए।
विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि राज्यको लगानी थुप्रै भएपनि जीवनोपयोगी शिक्षण सिकाइ हुन् नसकिरहेको टिप्पणी गरे। यसका लागि शिक्षा सिकाइ क्रियाकलाप लाई व्यवस्थित गर्नुपर्ने बताए।





