वीरेन्द्रनगर। राष्ट्रिय युवा सञ्जाल नेपाल, केन्द्रीय कार्यालय सुर्खेतले कर्णाली प्रदेशका विद्यार्थीहरूको बौद्धिक क्षमता विकास तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले खुल्ला हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।
सञ्जालले जारी गरेको सूचनाअनुसार प्रतियोगिता आगामी असार २० गते बिहान ११ बजे सुर्खेत बहुमुखी क्याम्पसको सभाहलमा सञ्चालन हुनेछ।
कार्यक्रममा कर्णाली प्रदेशभर अध्ययन तथा अध्यापन गरिरहेका विद्यार्थीहरू सहभागी हुन सक्ने जनाइएको छ।
प्रतियोगिताका लागि असार ११ गतेदेखि असार १९ गते राति १२ बजेसम्म टिम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। सहभागी टिममा ४ जना सदस्य रहनेछन् भने टिम दर्ता शुल्क ४०० रुपैयाँ निर्धारण गरिएको छ।
टिम दर्ता राष्ट्रिय युवा सञ्जाल नेपालको केन्द्रीय कार्यालय वीरेन्द्रनगर रंगशाला सुर्खेत वा अनलाइन माध्यमबाट गर्न सकिने आयोजक संस्था युवा सञ्जाल नेपालका अध्यक्ष धर्मराज जैशीले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा उत्कृष्ट हुने टिमलाई नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम हुने टिमले ६ हजार रुपैयाँ, द्वितीय हुने टिमले ४ हजार रुपैयाँ र तृतीय हुने टिमले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आयोजकले उपलब्ध गराएका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने जनाएको छ। राष्ट्रिय युवा सञ्जाल नेपालले युवा नेतृत्व, बौद्धिक विकास तथा सकारात्मक परिवर्तनका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।






