Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्धमा पञ्चपुरीमा शोक र्‍याली तथा क्यान्डल मार्च - oasiskhabar

२०८३ भाद्र ९, मंगलवार

पञ्चपुरी। जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरे बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोध गर्दै पञ्चपुरी नगरपालिकामा शोक र्‍याली तथा क्यान्डल मार्चसहित शोक कोणसभा सम्पन्न गरिएको छ।

‎आवाज संस्थाद्वारा गठित जागरुक युवा समूह पञ्चपुरी–६ र सक्रिय बालसमूह पञ्चपुरी–५ को संयुक्त आयोजनामा भएको कार्यक्रममा मिलनचोकबाट सुरु भएको शोक र्‍याली बाबियाचौर बजार चोकसम्म पुगेपछि शोक कोणसभामा समापन गरिएको थियो।

‎कार्यक्रममा सहभागीहरूले आँखामा कालोपट्टी बाँधेर क्यान्डल बाल्दै गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घोर भर्त्सना गरेका थिए।

साथै, घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेका थिए।

‎सहभागीहरूले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गरेका थिए।

उनीहरूले बालबालिकामाथि हुने यस्ता अमानवीय हिंसा र अपराध दोहोरिन नदिन समुदाय, परिवार, विद्यालय तथा सरोकारवाला निकाय सबै तहमा सचेतना र सक्रियता आवश्यक रहेको बताएका थिए।

‎कोणसभामा वक्ताहरूले बालबालिकाको सुरक्षा, यौन हिंसाविरुद्ध शून्य सहनशीलता र न्यायको सुनिश्चितताका लागि समाजका प्रत्येक बस्ती र समुदायबाट जागरुक भएर अघि बढ्नुपर्ने सन्देश दिएका थिए।

‎कार्यक्रममा बोल्दै जागरुक युवा समूह पञ्चपुरी–६ का अध्यक्ष भुपिन नेपालीले गरिमा चौधरीमाथि भएको यो जघन्य अपराधको सत्यतथ्य छानबिन गरी दोषीलाई कुनै पनि दबाब वा प्रभावबिना कानुनअनुसार कडाभन्दा कडा सजाय हुनुपर्ने माग गरे। ‘यस्ता घटनाले समाजलाई गम्भीर रूपमा झस्काएको छ,’ उनले भने, ‘अब प्रत्येक समुदाय बालबालिकाको सुरक्षाका लागि अझ जिम्मेवार र सचेत बन्नु आवश्यक छ, ताकि भविष्यमा कुनै पनि बालबालिकाले यस्तो पीडा भोग्न नपरोस्।’

‎कार्यक्रमको सहजीकरण आवाज संस्थाका सामाजिक परिचालक शशीराम घिमिरेले गरेका थिए भने कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आवाज संस्थाका सामाजिक परिचालक तेजबहादुर रोकायले जानकारी दिए।