२०८३ आश्विन १७, शनिबार

हुम्ला। किसानहरुलाई हुम्लामा ढिलो गरी पाक्ने गोल्डेन स्याउ टिप्न योग्य भएको कृषि प्राविधिकहरूले सुझाव दिएका छन्। स्याउ बगैँचामा पुगेर कृषि प्राबिधिकबाट स्याउको रसिलोपनाको ‘रिफ्याक्टो’ मिटरले चेकजाँच गरेर टिप्न सुझाव दिएका हुन्।

कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुणामणी पन्तले सिमकोट गाउँपालिका– ५ को सिम क्षेत्रमा लगाएको स्याउ बगैँचामा फलेको गोल्डेन स्याउ टिप्न र बिक्री गर्नका लागि योग्य भएको जानकारी दिए। उनकाअनुसार त्यहाँकाे स्याउमा प्राप्त मात्रामा रसिलोपना रहेकाे छ।

स्याउको रसिलोपना १२ डिग्री ‘व्रिक्स’ पुगेपछि बोटबाट टिप्न उपयुक्त हुने पन्तले बताए। उक्त स्याउ बगैँचाको गोल्डेन स्याउको रसिलोपना १३ डिग्री ‘व्रिक्स’ रहेको छ।

हुम्लामा स्याउको मूल्य प्रति केजी एक ग्रेडको ६० रुपैयाँ, बी ग्रेडको प्रति केजी ५० र सी ग्रेडको प्रति केजी ४० रुपैयाँ निर्धारण गरिएकाे छ।