सामाजिक संजाल:

२०८२ माघ १८, आईतवार

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन आइतबार १८ माघदेखि सुरु हुँदैछ। माघ ९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

संवैधानिक व्यवस्थाअनुसार चालु अधिवेशन अन्त्य भएको ६ महिनाभित्र प्रदेश सरकारले हिउँदे अधिवेशन आह्वान गरेको हो।

गत साउन २१ गते चालु आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेट पारित गरेपछि प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएको थियो।

कर्णाली प्रदेशसभा सचिवालयले माघको १८ गते दिउँसो १ बजे बस्ने हिउँदे अधिवेशनको पहिलो बैठकका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

तर, प्रदेशसभाको सातौं अधिवेशन भने यसअघिका नियमित प्रक्रिया र स्थानमा भने हुनेछैन। गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेशसभामा पूर्णरुपमा धोस्त भएको छ।

प्रदेशसभा सचिवालयका अनुसार आन्दोलनकारीहरुको तोडफोड र आगजनीबाट प्रदेशसभाको करोडौंको क्षति पु¥याएका थिए।

संसद भवनभित्र गरेको आगजनी र तोडफोडले फर्निचर, फिक्चर्स, कम्प्युटर, इलेक्ट्रोनिक्स, सवारीसाधन र अन्य भौतिक संरचना तथा सामग्रीहरु गरी तीन करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए।

‘आन्दोलनका कारण क्षति पुगेको प्रदेशसभा भवनमा तत्काल बैठक बस्न सकिने अवस्था छैन्’, सचिव बुढाथोकीले भने, ‘वैकल्पिक उपाय अपनाएर अधिवेन गर्न लागिएको छ। यस पटकको अधिवेशन काम चलाउ संसद कक्षबाट हुने छ।’

बुढाथोकीले प्रदेशसभा परिसरमा निर्माणधिन अस्थायी बैठक कक्ष पुरा नहुन्जेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको वीरेन्द्रनगर नगरपालिका–६ गणेशचोकमा रहेको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभाहलमा अधिवेशन सञ्चालन हुने जानकारी दिए।

‘जेन–जी आन्दोलन पश्चात प्रदेशसभाका सबै भौतिक संरचनामा क्षति पुगेको छ। त्यसको पुनर्निर्माणमा लागेका छौँ’, प्रदेशसभा सचिव बुढाथोकीले भने।

बुढाथोकीका अनुसार कृषि तथा पशुपंक्षी प्रशिक्षण केन्द्रको सभाहललाई हाउसमा परिवर्तन गरी रोष्टम, ससभामुख, उपसभामुख, सत्ता पक्ष, प्रतिपक्ष र सांसददेखि दर्शक दिर्घाका लागि बसाई व्यवस्थापन, साउण्ड सिस्टम, सुरक्षा व्यवस्थापन लगायतका काम पुरा भएका छन्।

यस्तै, शुक्रबार कर्णाली प्रदेशसभा सभामुख नन्दा गुरुङ्ग तथा केही समय अघि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अस्थायी सभाहलको अनुगमन गरिसकेका छन्।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनसम्म आइपुग्दा १४ वटा कानुन निर्माण भएको जानकारी दिए।

उनकाअनुसार संसदमा दर्ता भएका २३ वटा विधेयक मध्ये प्रदेश प्रमुखबाट १४ जटा विधेयक प्रमाणिकरण, प्रदेश सभामा टेबुल भएका चार वटा विधेयक विचाराधीन छन् भने तीन वटा विधेयक सरकारले फिर्ता लिएको छ।

यस्तै, कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले प्रदेशसभा परिसरभित्रै अस्थायी भवनको काम निर्माणधिनको अवस्थामा भएकाले पशुपंक्षी प्रशिक्षण केन्द्रको सभाहलबाट बैठक सञ्चालन हुन लागेको जानकारी दिए। शाहले बैठक लामो समयसम्म नचल्ने भएकाले अस्थायी रुपमा कृषि तथा पशुपंक्षी प्रशिक्षण केन्द्रको सभाहलबाट सञ्चालन हुने बताए।