२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौँ। घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला भलिबल टोली चौथो भएको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको बहुउद्देश्यीय कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको हो। नेपाल भारतसँग २२-२५, २३-२५, २५-१५ र २२-२५ ले पराजित भएको छ।

प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले २२-२५ ले गुमाएको थियो। दोस्रो सेट २३-२५ भारतलाई सुम्पेको नेपालले तेस्रो सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै नेपालले २५-१५ ले सहजै खेल आफ्नो पक्षमा पारेको थियो।

रोमाञ्चक तेस्रो सेटमा नेपालले भारतविरुद्व एक समय १६-७ को फराकिलो अग्रता बनाएको थियो। तर चौथो तथा अन्तिम सेटमा नेपालले २२-२५ ले गुमाउँदा चौथो स्थानमा सिमित हुनुपर्‍यो।

चारै सेटको सुरुवातमा नेपालले भारतमाथि दबाब सिर्जना गरे पनि अन्तिममा सहजै अंक गुमाउन पुग्यो। यसअघि समूह चरणमा भएको पहिलो भेटमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो।

काभाले आयोजना गरेको च्याम्पियनसिपमा पहिलो पटक नेपाली टोलीको प्रदर्शन कमजोर रह्यो। काभाको च्याम्पियनसिपमा नेपाल पहिलो पटक उपाधिविहीन बन्न पुग्यो।

सेमिफाइनलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित हुँदै तेस्रो स्थानका लागि खेलेको थियो। आजै हुने फाइनल खेलमा इरान र काजकस्तान भिड्नेछन्।