२०८२ माघ ८, बिहीबार

काठमाडौँ । आईसीसी महिला विश्वकप ग्लोबल छनोट प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ।

जित नजिक पुगेर पनि नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो। लगातार तेस्रो जित निकालेको नेदरल्यान्ड्स भने सुपर सिक्समा प्रवेश गर्न सफल भएको छ।

नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् भने सीता रानामगर २७ रनमा अविजित रहिन्। रुविनाले ३२ बलमा ५ चौका प्रहार गरिन्।

यस खेलसँगै रुविना क्षेत्रीले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन्। उनी नेपालबाट टी–२० आइमा १ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेकी हुन्।

एक समय नेपाल १६.२ ओभरमा ७ विकेट गुमाउँदै ९३ रनमा सीमित थियो। तर आठौँ विकेटका लागि रुविना र सीताबीच ४५ रनको साझेदारी भएपछि जितको आशा पलाएको थियो। अन्तिम ओभरमा १३ रन आवश्यक परेका बेला नेपालले ११ रन मात्र बनाउन सकेपछि जित नजिक पुगेर पनि हार व्यहोर्नुपर्‍यो।

अन्य ब्याटरमा बिन्दु रावलले १८, सम्झना खड्काले १४ र कविता जोशीले १३ रन जोडिन्। पुजा महतो ८ र इन्दु बर्मा ६ रनमा आउट भइन्।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४० रन बनाएको थियो।

नेदरल्यान्ड्सका लागि बबेटे डे लिडेले ४९ रन बनाइन् भने स्टेरे कालिसले ३० रनको योगदान दिइन्। डे लिडे रुविना क्षेत्रीको बलमा कट एण्ड बोल्ड भइन् भने कालिस रिया शर्माको बलमा बोल्ड आउट भइन्।

नेपालले सुरुआतमै नेदरल्यान्ड्समाथि दबाब सिर्जना गरेको थियो। पहिलो ओभरको चौथो बलमा ओपनर पेभे मोल्केबोइर शून्य रनमा सुमन विष्टको बलमा सम्झना खड्काबाट क्याच आउट भइन्। दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पुजा महतोको बलमा रुविना क्षेत्रीको हातबाट क्याच आउट भइन्।

नेपालका लागि रुविना क्षेत्रीले २ विकेट लिइन् भने सुमन विष्ट, पुजा महतो र रिया शर्माले समान १–१ विकेट हात पारे।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। समूह चरणको तेस्रो खेलमा नेपालले शनिबार जिम्बाव्बेसँग प्रतिस्पर्धा गर्नेछ।