काठमाडौँ। मल्टिस्टार चलचित्र ‘पाँच पाण्डव’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
निर्माण टिमले बिहीबार पोस्टर सार्वजनिक गरेको हो। ‘पाँच पाण्डव’को फर्स्टलुक पोस्टरमा पाँच पाण्डव अथवा सिनेमाका मुख्य पाँच कलाकारलाई राखिएको छ। हरिवंश आचार्य, आर्यन सिक्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला पोस्टरमा फिचर्ड छन्।
पोस्टरले क्यारेक्टर रिभिल गरेको छ। पोस्टरअनुसार हरिवंश युधिष्ठिर बनेका छन्। भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देख्न सकिन्छ।
पोस्टरमा घोडाले तानिरहेको साजसज्जायुक्त बग्गीमा पाँच पाण्डव छन्। युधिष्ठिर अर्थात् हरिवंश अगाडि बसेका छन्। उनको पछाडि बाँकी चार जना उभिएका छन्।
पाँच पाण्डवको विशेषता झल्काउने पोस्टरले दर्शकको दिमागमा यो सिनेमा र यसका पात्र रजिस्टर गराउन सफल हुने आकलन गर्न सकिन्छ। ‘हामीले आज सार्वजनिक गरेको पोस्टर दर्शकले पक्कै रुचाउनु हुनेछ भन्ने हाम्रो अपेक्षा छ।
क्यारेक्टर रिभिल गरेका छौँ,’ निर्देशक वसन्त निरौलाले भने, ‘हामीले कतै देखिरहेका पात्र र लुक्स भएकाले यी क्यारेक्टर दर्शकमाझ चाँडै लोकप्रिय हुने र सिनेमाप्रति दर्शकको प्रतिक्षा बढ्ने हामीले विश्वास लिएका छौँ।’
तिहारको छेको पारेर कात्तिक २० गते रिलिज हुने चलचित्र पाँच पाण्डवको अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ। यो चलचित्रको पूरै साउन्ड डल्बी एटमसमा हुनेछ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकार एकसाथ देखिनेछन्। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन्।
त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सिता न्यौपाने लगायतको पनि मुख्य भूमिका रहेको छ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन्।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।





