२०८२ कार्तिक २६, बुधबार

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विगतका वर्षहरुमा अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डाइभर्सिटी भिसा(डिभी) लोटरीको आवेदन खुलाउँथ्यो।

तर यस पटक भने त्यस्तो भएन। अर्थात् अहिलेसम्म डिभी लोटरीको लागि अमेरिकाले आवेदन खुलाएको छैन।

अमेरिकाले केही समयको लागि डिभी लोटरीको प्रक्रिया स्थगित गरिएको जनाएको न्यूयोर्कमा कार्यरत कानुन व्यवसायी बासु फुलाराले जानकारि दिए।

‘परराष्ट्र मन्त्रालयको सूचनाले के भन्न सकिन्छ भने अबको ७ दिनदेखि १ महिनाका बीचमा जुनसुकै बेला पनि डिभी लोटरी खुल्न सक्छ। तर अहिलेसम्म के कारणले डिभी लोटरीको प्रक्रिया स्थगित गरेको हो भनिएको छैन,’ फुलाराले भने, ‘डिभी लोटरी कार्यक्रम बन्द भएको छैन भनेर भन्न भने सकिन्छ। त्यति मात्र होइन अहिलेसम्म सन् २०२७ मा अमेरिका लैजाने तालिकामा पनि हेरफेर भएको छैन।’

यसपालि डिभी लटरीका लागि आवेदन खुलाउन ढिलाइ हुनुमा दुई कारण हुन सक्ने फुलाराको बुझाइ छ।

डिभी लोटरीका लागि आवेदन दिँदा अहिलेसम्म कुनै शुल्क तिर्न पर्दैनथ्यो। तर यस पटकबाट १ डलर तिर्नुपर्ने प्रावधान राखिएको छ। यसले गर्दा पनि डिभी लोटरीको आवेदन खुलाउन ढिलो गरिएको अनुमान पनि छ।

त्यसको भुक्तानी कसरी गर्ने भनेर प्रावधान तोक्न बाँकी नै छ। किनकी अहिलेसम्म डिभीको आवेदन निःशुल्क थियो। अब शुल्क लिने भएपछि त्यसको व्यवस्थापन पनि गर्नै पर्ने हुन्छ।

दोस्रो, अमेरिकी संसदले बजेट पारित गर्न नसकेपछि सरकारले आफ्ना धेरै सेवा र कार्यक्रम अस्थायी रूपमा रोकेको छ।

जसले गर्दा प्रशासनिक कामहरु सहज तरिकाले हुन पाएको छैन। ‘सायद यसको असरले पनि आवेदनका लागि ढिलाइ भएको हुनसक्छ। अब बन्द भएको सरकार खुल्ने क्रममा छ। त्यसैले डिभीको आवेदन पनि चाँडै खुल्छ होला,’ उनले भने।

अहिले स्थगित हुनु भनेको डिभी बन्द हुन लागेको संकेतका रुपमा बुझ्न नहुने समेत फुलाराको तर्क छ। यसमा प्रविधिक र प्रशासनिक कारण मात्र रहेको हुन सक्ने उनले बताए।

केही ढिलो भए पनि डिभी लोटरीको आवेदन खुल्ने भएकाले आवेदन दिने क्रममा केही सचेतता अपनाउन समेत फुलाराले सुझाव दिएका छन्।