२०८२ आश्विन १०, शुक्रबार

पर्सा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुनधारा काठमाडौँबाट फरार भएका एक कैदी पर्सामा पक्राउ परेका छन्।

मंगलबार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कालिकामाई गाउँपालिका-५ निवासी ४० वर्षीय मुक्तिनारायण कुर्मीलाई पक्राउ गरेको हो।

उनी आफ्नै ३५ वर्षीया श्रीमती संगिता देवी कुर्मीलाई घाँटी थिचेर हत्या गरेको कसुरमा पर्सा जिल्ला अदालतले २५ वर्ष कैद सजाय तोकेको अभियुक्त हुन्।

प्रहरीका अनुसार कुर्मी भदौ २४ गते आन्दोलनको दौरान कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी आफ्नै गाउँमा लुकीछिपी बस्दै आएका थिए।

प्रहरीले पक्राउ परेका कैदीलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा पठाउने तयारी भइरहेको जनाएको छ।