२०८२ आश्विन २७, सोमबार

हुम्ला । जेनजी समूहको आन्दोलनमा निस्केका हुम्लाका एक जना युवक हालसम्म बेपत्ता छन्। नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्थायी घर भएर काठमाडौँको तीनचुलीमा बस्दै आएका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन्।

२४ वर्षका लामा नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्षअगाडिदेखि काठमाडौँको तीनचुलीमा भतिजोसँगै कोठा लिएर बस्दै आएका थिए।  आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुवा टैछिरिङ लामाले बताए।

बुवा लामाकाअनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता भएका थिए। होटेलमा काम गर्ने लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठा आएर आन्दोलनमा निस्केका थिए। बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केको र त्यसपछि भने बेपत्ता भएका हुन्।

जेनजी आन्दोलनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन बुवा लामाले आग्रह गरेका छन्। उनले अब सास पाउने सम्भावना छैन लास भए पनि पाउन पाए हुने बताए। उनका दुई छोरामध्ये बेपत्ता भएका कान्छा छोरा हुन्।

हुम्लाको युवा जेनजी आन्दोलनमा गएर बेपत्ता भएपछि नामख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अङ्गबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि सहयोग मागेका छन्। बेपत्ता लामाका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई पनि जानकारी गराइएको छ।