सुर्खेत । नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेशले जेनजी आन्दोलनका नाममा लुटपाट र आगजनी गर्नेहरुमाथि कारबाहीको माग गरेको छ। जसका लागि युवा संघले आइतबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कारबाहीको माग–पत्र समेत बुझाएको छ।
वीरेन्द्रनगर नगरपालिका–६ हटियालाइनमा रहेको एमाले पार्टी कार्यालयबाट युवा संघ र अनेरास्ववियुको मोटरसाइकल ¥याली निकालेर वीरेन्द्रचोक, पिपलचौतरा, भानुचोक आँखा अस्पताल हुँदै प्रशासनमा पुगेर माग पत्र बुझाएको हो।
युवा संघ कर्णाली अध्यक्ष जीवन शाहीले जेनजी आन्दोलनका क्रममा भएका अराजकता, आगजनी, लुटपाट, हत्या र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गर्दै विभिन्न माग सहितको पत्र प्रशासनलाई बुझाएको जानकारी दिए।
उनकाअनुसार आगजनी, लुटपाट, हत्या र तोडफोडका घटनाहरूको निष्पक्ष अनुसन्धान गरी वास्तविक दोषीहरूलाई सार्वजनिक गरि कारबही, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सहित प्रदेश भरि रहेका सरकारी भवन, विद्यालय, निजी घर र सार्वजनिक सम्पत्तिहरूमा क्षति पुरÞ्याउनेहरूलाई तत्काल कानूनी कारबाही, क्षति मूल्यांकन गरी पीडितहरूलाई न्यायोचित क्षतिपूर्ति दिनुपर्ने, शान्तिपूर्ण आन्दोलन गर्ने नागरिकहरूको अधिकार सुनिश्चित गर्दै हिंसात्मक समूहहरूलाई नियन्त्रणमा लिनुपर्ने माग रहेका छन्।
सुरक्षा निकायहरूको मनोबल पुनःउत्थान गर्न तिनको संरचनात्मक सुधार र राजनीतिक निष्पक्षता सुनिश्चित गर्नुपर्ने, राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्र परराष्ट्र नीतिलाई रक्षा गर्न विदेशी हस्तक्षेपमाथि तत्काल नियन्त्रण गर्नुपर्ने र वीरेन्द्रनगर लगायत सुर्खेतमा पछिल्लो समयमा मोटरसाइकल चोरीका घटनाहरु अत्याधिक बढेको हुनाले यसको तत्काल छानविन गरि नियन्त्रण गर्ने मागहरु युवा संघले राखेको छ।
अध्यक्ष शाहीले माग–पत्र हस्तान्तरण गर्दै गत भदौ २३ र २४ गते देशभर भएको तथाकथित जेनदीआन्दोलनको आवरणमा प्रारम्भिक रूपमा भ्रष्टाचार, नातावाद, असमानता र सामाजिक सञ्जाल बन्दको विरोधमा देखिए पनि देशी बिदेसी शक्ति केन्द्र र विभिन्न स्वार्थ समुहद्वारा पालित पोषित राजनिती कर्मी र गैरसरकारी संस्थाद्वारा परिचालित तत्वहरूले हाइज्याक गरी हिंसात्मक विनाशकारी र गैर जिम्मेवार कार्यमा परिणत भएको बताए।
उनले भने, ‘यो आन्दोलनमा ज्यान गुमाउनु हुने जेनजी युवा र सुरक्षाकर्मीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली। २३ र २४ गतेका दिन देशका विभिन्न स्थानहरूमा सरकारी कार्यालय, विद्यालय, निजी घर, र सार्वजनिक सम्पत्तिहरूमा आगजनी, तोडफोड, लुटपाट र हिंसाका घटनाहरू भए, जसले राष्ट्रिय सम्पत्तिमा ठूलो क्षति भएको छ, यसमा संलग्न सबैलाई कारबाहीको माग गर्दछु।’
साथै उनले विशेष गरी २४ गतेका दिन भएका योजनाबद्ध लुटपाट, हत्या र विध्वंसका कार्यहरू कुनै पनि सर्तमा स्विकार्य छैनन्। यी घटनाहरूले सभ्य आन्दोलनको मर्ममाथि गम्भीर चोट पुरÞ्याएका छन् र कानून, मानवता र लोकतान्त्रिक संस्कृक्तिमाथि ठूलो आक्रमण भएको दाबी गरे।

