२०८२ आश्विन २१, मंगलवार

बुटवल । लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन्। असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो।

ती दुर्घटनामा १४८ जना गम्भीर घाइते र ५८७ जना साधारण घाइते भएको नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका डीएसपी दीपेश बस्यालले रातोपाटीलाई बताए। उनले पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा धेरै सवारी दुर्घटना भएको बताए।

मृत्यु हुनेमा पुरुष १२ जना, महिला ७ जना र बालबालिका ३ जना छन्। गम्भीर घाइते हुनेमा पुरुष ९६ जना, महिला ३२ जना र बालबालिका १९ जना छन्। साधारण घाइतेतर्फ पनि पुरुषको संख्या धेरै छ। प्रहरीका अनुसार साधारण घाइतेतर्फ ३७४ जना पुरुष, ४८ जना महिला र ७७ जना बालबालिका छन्।

नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दसैँको १४ दिनको अवधिमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देही जिल्लामा भएको छ। डीएसपी बस्यालका अनुसार रुपन्देहीमा १३५ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु हुनका साथै २० जना गम्भीर घाइते र ११९ जना साधारण घाइते भएका छन्।

यस्तै नवलपरासी जिल्लामा ५० सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते र ५७ जना साधारण घाइते भएका छन्। कपिलवस्तु जिल्लामा ४४ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनका साथै २६ जना गम्भीर घाइते र ६३ जना साधारण घाइते भएका छन्।

पाल्पा जिल्लामा २३ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। यी दुर्घटनामा एक जना गम्भीर घाइते र ४० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

गुल्मीमा १९ सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते र २३ जना साधारण घाइते भएका छन्। यस्तै अर्घाखाँचीमा १० वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते र २८ जना साधारण घाइते भएका छन्।

दाङमा ५० सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १९ जना र साधारण घाइते ३७ जना भएका छन्।

यस्तै बाँके जिल्लामा ९९ सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १६ जना, साधारण घाइते १४० जना भएका छन्।

बर्दिया जिल्लामा ९३ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५५ जना गम्भीर घाइते भएका छन्। यहाँ ५३ जना सामान्य घाइते भएका छन्।

प्युठानमा १३ वटा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते, १४ जना साधारण घाइते भएका छन्। रोल्पामा ७ वटा सवारी दुर्घटना हुँदा १३ जना साधारण घाइते भएका छन्।

पूर्वी रुकुममा एक सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते र एक जना साधारण घाइते भएका छन्।