रुकुमपूर्व । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गतको रानिकोट-किटनी सडकखण्ड १९ दिनभित्र बाँकी रहेको निर्माण कार्यलाई सम्पन्न गर्ने भन्दै यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अुनसार तोकिएको अवधिभित्र सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।
मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट-किटनी सडकखण्डमा बाँकी काम सम्पन्न गर्न तत्काल सवार आवागमन रोक्नुपर्ने प्रस्ताव सश गरेका थिए। सोही प्रस्तावका आधारमा १९ दिनका लागि रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालयले सडक बन्दको अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्गमार्फत यात्रा गर्न आग्रह गरेको छ।
ठूला सवारीसाधनले वैकल्पिक मार्गका रूपमा कैचिमोड-धाउन्ने-पोखरा-छिन्खेत सडक प्रयोग गर्न सकिने र साना सवारी साधनहरूले कैचिमोड-धाउन्ने-नाथिगाड-धपे मार्ग प्रयोग गर्न सक्ने छन्।




