सुर्खेत । दैलेखको ठाटीकाँध–६ पाँचलामा आयाेजना गरिएकाे क्रिकेट प्रतियोगिताकाे उपाधि धाैलापडा स्पाेर्ट्स क्वलले उचालेकाे छ।
धौलापडाले लेकबेसी स्पोर्ट्स क्लबद्वारा आयोजित लेकबेसी प्रिमियर लिगको पहिलो सिजनको उपाधि हात पारेको हाे।
मैदानको अभावमा स्थानीय बारीको पाटामा सुरु गरिएको उक्त प्रतियोगितामा दैलेख जिल्लाभित्रका १६ वटा टिम सहभागी भएका थिए।
सहभागी टोलीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्दै धौलापडाले उपाधि आफ्नो पक्षमा पार्न सफल भयाे।
सेमिफाइनलमा महाबु गाउँपालिकालाई पराजित गर्दै फाइनलमा पुगेको धौलापडाले आयोजक टोली लेकबेसी स्पोर्ट्स क्लबसँग उपाधिका लागि रोमाञ्चक भिडन्त गरेको थियो।

फाइनलमा टस जित्दै पहिलो ब्याटिङ रोजेको लेकबेसी स्पोर्ट्स क्लबले १२ ओभरमा ६ विकेट गुमाउँदै ८२ रन बनाएको थियो।
लक्ष्य पच्छ्याउने क्रममा धौलापडा स्पोर्ट्स क्लबले ९.४ ओभरमा ३ विकेट गुमाउँदै ८५ रन पूरा गर्दै उपाधि जित्यो।
उक्त खेलमा धौलापडाका सुवासचन्द्र अधिकारीले ६ बलमा ३ छक्काको मद्दतले २३ रन बनाए र बलिङमा ३ ओभरमा १६ रन खर्चिएर २ विकेट लिँदै म्यान अफ द म्याच घोषित भएका थिए।
अन्य खेलाडीहरु सन्दिप शाही सुरज बोहरा सोभन शाही र दिपेस शाहीको पनि उत्कृष्ट प्रदर्शन रह्यको धौलापडा स्पोर्ट्स क्लबका म्यानेजर कमल शाहीले जानकारी दिए।


