सुर्खेत । ल्याब सामाग्री खरिदका लागि मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबीच सम्झौता भएको छ। शुक्रबार विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका लागि आवश्यक प्रयोगशाला सामग्री तथा उपकरण खरिदका लागि सम्झौता गरिएको हो।
सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट मन्त्री घनश्याम भण्डारी, सचिव धोलकराज ढकाल र विश्वविद्यालयतर्फबाट उपकुलपति प्राडा ध्रुवकुमार गौतमज्यू, रजिष्ट्रार प्रा.डा शोभाखर कँडेल र डिन सह प्रा.डा. राजन सुवालले हस्ताक्षर गरेका हुन्।
सम्झौता बमोजिम सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि ४ करोड बजेट मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङमा आवश्यक प्रयोगशाला सामग्री तथा उपकरण खरिद गर्न विनियोजन गरिसकेको छ।
यस्तै, सम्झौताको मुख्य उद्देश्य इञ्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुको व्यवहारिक सिकाई, अनुसन्धान र परिक्षण क्षमता अभिवृद्धि गर्न आवश्यक उपकरण तथा सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्नु रहेको विश्वविद्यालयले जनाएको छ।
सम्झौता कार्यक्रममा उपकुलपति ध्रुवकुमार गौतमले विश्वविद्यालयले सबै नियम, कानुन र सम्झौता अनुसार पारदर्शी र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरे।
उनले यस सहकार्यले विश्वविद्यालयलाई अझ सक्षम, अनुसन्धानमैत्री र प्राविधिक रूपमा सबल संस्थाका रूपमा अघि बढाउने र कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विश्वविद्यालयले प्रवाह गरिरहेका सेवा तथा विशेषगरी सिभिल इन्जिनियरिङ, निर्माण तथा पूर्वाधार विकासका क्षेत्रमा गर्दै आएको कार्य र योगदानको प्रशंसा गरे। उनले जाजरकोट भूकम्प तथा पुल मूल्याङ्कनजस्ता महत्वपूर्ण कार्यमा विश्वविद्यालयले देखाएको प्राविधिक दक्षता उल्लेखनीय रहेको बताउँदै आधुनिक ल्याब स्थापनाले नयाँ आयाम थप्ने र आगामी दिनमा मन्त्रालय र विश्वविद्यालयबीच थप सहकार्यको सम्भावना समेत रहेको धारणा व्यक्त गरे।
त्यसै गरी ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका डिन सह प्राडा राजन सुवालज्यूले ग्रयाजुएट स्कुल अफ इञ्जिनियरिङ्गमा आधारभूत प्रयोगशाला सामग्रीदेखि लिएर अनुसन्धानका उपकरण र परीक्षण प्रविधिसम्म उपलब्ध गराउन यो सहयोग अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्रालयप्रति आभार व्यक्त गरे।
मन्त्रालयका सचिव धोलकराज ढकालज्यूले प्रदेश सरकारले विश्वविद्यालयसँग गरेको सहकार्य ऐतिहासिक भएको उल्लेख गर्दै विनियोजित बजेट, खरिद प्रक्रिया तथा सम्झौताका कानुनी प्रावधानबारे जानकारी प्रस्तुत गरेका थिए।
उजले चार करोडको बजेट विनियोजन विश्वविद्यालयमार्फत प्रभावकारी रूपमा कार्यान्वयन हुने र सोका लागि मन्त्रालयका तर्फबाट आवश्यक समन्वयकारी भूमिका सदैव सकारात्मक रहने उल्लेख गरे।
सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका तर्फबाट बिभिन्न निर्देशानलयका कार्यकारी निर्देशकहरु, विभागीय प्रमुख, उपकुलपति सचिवालयका सदस्य, रजिस्ट्रार सचिवालयका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।
मन्त्रालयका तर्फबाट शैक्षिक विकास महाशाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन प्रशासन तथा योजना महाशाखा प्रमुख एवं उपसचिव देवीप्रसाद पौड्यालले गरेका थिए।
सम्झौतासँगै विश्वविद्यालय र प्रदेश सरकारबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छ भने आगामी दिनमा अत्याधुनिक उपकरणयुक्त प्रयोगशालाको स्थापना भई क्याम्पसको शिक्षण, सिकाइ, अनुसन्धान तथा परीक्षण क्षमतामा गुणात्मक सुधार हुने र समग्र कर्णाली प्रदेशको भौतिक विकास निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

