सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा बोलेरो जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरीको ३ नम्बर वडाको रातजुरस्थित भित्री सडक खण्डमा बिहीबार बिहान जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले त्रिपुराकोटबाट सुजिउ गाउँका लागि छुटेको ग.१ ज ८०९९ नम्बरको जिप दुर्घटनमा परेको जनाकारी दिए।
दुर्घटनमा गम्भीर घाइते त्रिपुरासुन्दरी नगरपालिका–३ सुउका अन्दाजी ५५ वर्षीय धनचन्द्र धरलाको उपचारको क्रममा जिल्ला अस्पताल दुनैमा मृत्यु भएको हो।
त्रिपुरासुन्दरी नगरपालिका–३ सु बस्ने अन्दाजी ३१ वर्षीया रमा बोहरा, अन्दाजी ३१ वर्षीय सुकलाल गुरुङ र त्रिपुरासुन्दरी –१ बस्दै आएका २५ वर्षीय यलिसकुमार बुढाथोकी घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल दुनै उपचार भइरहेको डिएसपी खड्काले बताए।
प्रहरीका अनुसार यलिसकुमार जिप चालक हुन्। उनको अवस्था सामान्य नै छ। उनको प्रहरीको निगरानीमा उपचार भइरहेको छ।
जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।