कार्तिक १४, २०८३

सल्यान। सल्यानमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिद्ध कुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा भएको दुर्घटनामा जिप र बोलेरो सडकबाट तल खसेको थियो।

सिद्ध कुमाख गाउँपालिका–२ रातामाटे खोलास्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप शुक्रवार साँझ करिब ६ः३५ बजेतिर सडकबाट झन्डै एक सय ५० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले दुर्घटनामा परी सिद्ध कुमाख गाउँपालिका–२ का ४३ वर्षीय साउने रोका, ४३ वर्षीया कृष्णी बस्नेत र ४५ वर्षीया सीता विकको मृत्यु भएको जानकारी दिए।

उनकाअनुसार दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ, नेपालगञ्ज र जिल्ला अस्पताल सल्यान रिफर गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, बनगाड कुपिण्डे नगरपालिका–११ गरास्थित खलंगा–बालुवा संग्राही सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

चौरबाट बालुवा संग्राहीतर्फ आउँदै गरेको रा १ च १७२३ नम्बरको डबल क्याब बोलेरो गए राति करिब ८ः४० बजे सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरी नगर अस्पताल देवस्थलमा उपचारका लागि पठाइएको थियो। घाइतेमध्ये केहीलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

दुवै दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।