२०८३ बैशाख १९, शनिबार

काठमाडौँ। पछिल्लो एक महिनाको अवधिमा देशभरबाट चार सय १७ बिचौलिया पक्राउ परेका छन्। नेपाल प्रहरीले काठमाडौँ उपत्यकाबाट १२३, कोशी प्रदेशबाट ४५, मधेसबाट ५०, बागमतीबाट ७६, गण्डकीबाट २७, लुम्बिनीबाट ४४, कर्णालीबाट २४ र सुदूरपश्चिमबाट २८ जनालाई गरेको हो।

पक्राउमध्ये १२१ जनाविरुद्ध विभिन्न मुद्दा दर्ता गरिएको र २९६ जना व्यक्तिलाई छानबिनपछि छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले जानकारी दिए। बिचौलियारहित, नागरिकमैत्री, कानुनसम्मत, पारदर्शी र छिटोछरितो प्रभावकारी सेवा प्रवाहलाई सहज बनाउन प्रहरीले भूमिका खेल्दै आइरहेको उनको भनाई छ।

वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गर्ने सात पक्राउ

त्यसैबीच, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तेह्रथुमका ४० वर्षीय सुरज पन्धाक लिम्बू, सोलुखुम्बुका ४६ वर्षीय कमलबहादुर पुलामीमगर र २९ वर्षीय सागर शेर्पा, काभ्रेपलाञ्चोकका ३९ वर्षीय विनोद थापा, २६ वर्षीय प्रल्हाद खत्री र ३३ वर्षीय सरोज गौतम तथा सिन्धुपाल्चोकका ५६ वर्षीय सूर्यप्रसाद कोइराला छन्।

उनीहरूले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवासँग करोडौँ रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

लुटपाटमा संलग्न पक्राउ

सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्वर नगरपालिका–५ पैंयाटार बस्ने रसुवा घर भएका २५ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका–६ मातातीर्थ क्षेत्रमा बाटोमा हिँडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानका क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।