सुर्खेत । आइतबार साँझ मुगुमा सेनाको बोलेरो जिप दुर्घटनामा एक अमलदारको मृत्यु भएको छ। छाँयानाथ रारा नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमान १ झ १०३९ नम्बरको बोलेरो दुर्घटनामा परेको थियो।
हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सेनाको सामान पुर्याउन गएको जिप फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिए।
उनकाअनुसार मृत्यु हुनेमा बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भइ हनुमान ध्वज गुल्ममा अमलदार चालकका रुपमा कार्यरत हरिसिंह ऐडी छन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ७ बजेको समयमा जिप दुर्घटनमा परेको हो।
दुर्घटनामा परेको खबर पाउनेबित्तिकै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो।
बोलेरो सडकदेखि २ सय मिटर तल खसेको प्रहरीको भनाइ छ।
ऐडीलाई उद्धार गरेर उपचारका लागि राति १० बजे नै मुगु अस्पताल लगिएको थियो। उनलाई उपचारको क्रममा सोमबार बिहान १ बजेर ३० मिनेटमा अस्पालले मृत घोषणा गरेको थियो।
मृतक ऐडीको शव पोस्टमार्टमको तयारी भइरहेको छ।
यस्तै, डिएसपी थपलियाले दुर्घटनाको कारण हालसम्म पत्ता नलागेको बताए। उनले सडकको भित्ता साइटबाट चलाइरहेको गाडी डिलतिर कसरी पुगेर दुर्घटनमा पुग्यो भन्ने विषयामा अनुसन्धान भइरहेको बताए।

