२०८३ भाद्र २९, सोमबार

रौतहट। नेकपा एमाले निकट नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार अनिल झामाथि भारतको बैरगनियामा सांघातिक आक्रमण भएको छ। काम विशेषले सोमबार बिहान करिब १० बजे बैरगनिया जाने क्रममा बोर्डर पारि पुगेपछि केही व्यक्तिहरूको समूहले झामाथि ज्यानलेवा आक्रमण, कुटपिट तथा दुर्व्यवहार गरेको नेपाल बौद्धिक परिषद् रौतहटले जनाएको छ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परिषद्ले आक्रमणको घोर भर्त्सना गरेको छ। परिषद्का जिल्ला कार्यसमिति रौतहटका सचिव महम्मद अतिउल्लाहले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

परिषद्ले पत्रकारसमेत रहेका आफ्ना जिल्ला अध्यक्ष झामाथि भएको आक्रमणलाई गम्भीर घटनाका रूपमा लिँदै दोषीमाथि कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको छ। घटनाको वास्तविक कारण र आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनसमेत परिषद्ले आग्रह गरेको छ।

सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने नेपाली नागरिकमाथि हुने कुटपिट तथा दुर्व्यवहारका घटनाले सुरक्षा र नागरिकको आवागमनको विषयमा समेत प्रश्न उठाउने भन्दै घटनाको गम्भीर अनुसन्धान आवश्यक रहेको परिषद्को भनाइ छ।

परिषद्का सचिव अतिउल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको घोर भर्त्सना गर्दै अविलम्ब दोषीहरूलाई हिरासतमा लिई छानविन गरी हदैसम्मको सजाय गर्न माग गर्दछौँ।’

हालसम्म आक्रमणको कारण, संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाबारे भारतीय सुरक्षा निकायको आधिकारिक धारणा सार्वजनिक भएको छैन। घटनाबारे थप अनुसन्धान तथा पीडित पक्षको बयानपछि मात्रै आक्रमणको वास्तविक कारण र घटनाक्रम स्पष्ट हुने देखिन्छ।

पत्रकार झाकाे माेबाइल समेत खाेसिएको छ।