सुर्खेत । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भए। उनले त्यतिबेला भनेका थिए, ‘जुम्लामा चार दलका कार्यकर्ता मेरो प्रचारमा छन्’ शाहीले सोहीअनसार नतिजा पनि हात पारे। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तीन दल मिलेर बनेको वाम लोकतान्त्रि गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराए।
गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) पराजित बनिन्। गोमालाई १० हजार ८६० मतान्तरले हराउँदै शाही पहिलो पटक सांसद बने। शाही २२ हजार ८१९ मतसहित विजयी हुँदा कुँवरले ११ हजार ९५९ मत पाइन्। एमालेका रतननाथ योगीले ६ हजार ५२८, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ९५५ मत पाए।
गठबन्धनभित्र र स्वंयम माओवादीभित्रको आन्तरिक विवादको फाइदा शाहीले उठाए। त्यसअघि भ्रष्ट्राचारविरुद्ध आजाव उठाँदै आएका शाहीले ‘हाम्रो नेपाल हामी नेपाली’ नामक संस्थाको संयोजक हुँदै देशैभर अभियान नै चलाए। अगाडीपछाडी युट्बयुर लगाएर सरकारी कार्यालयहरुमा छिर्दै हिसाब–किताब समेत खोजे। त्यसपछि उनि सामाजिक अभियन्ताबाट राजनीतिमा होमिए। पछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरे। चुनाव लड्न जुम्ला फर्किए। उक्त अभियानले जुम्लाको सिंजा गाउँपालिका–३, पिगी स्थायी घर भएका शाहीलाई निर्वाचन जिताउँनमा ठूलो राहत दियो।
त्यसैमा २०७९ मा गठबन्धनबीच जुम्लाको टिकट कसले पाउने भन्ने विषयमा खिचातानी भयो। नेपाली काँग्रेस र माओवादी दुइवटै दलले टिकटका लागि दाबी गरे। तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले माओवादीका युवा नेता मनऋषि धिताललाई टिकट दिए। तर, उनि काठमाडौँबाट सुर्खेत नपुग्दै माओवादी केन्द्र कर्णाली प्रदेशले टिकट खोसिदियो। धितालको टिकट गोमालाई दिएपछि पार्टीभित्र आन्तरिक असन्तुष्टि बढ्यो त्यसको फाइदा पनि राप्रपाका शाहीले नै लिए।
२०६४ सालदेखि नेकपा माओवादी केन्द्रको गढ मानिएको जुम्ला शाहीले भत्किाइदिए। गत निर्वाचनमा कर्णाली प्रदेशका १० जिल्लाका १२ मध्ये ११ वटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका थिए। तर, शाही कमजोर संगठन भएको जुम्लाबाट विजयी भए। उनि गठबन्धनका उम्मेदवार हराउने एक्ला नेता थिए।
यस पटकको निर्वाचन पनि रोचक बन्ने भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदाता फकाउन उम्मेदवारहरू गाउँ–गाउँ छिरेका छन्। राप्रपाबाट उनै शाही, नेकपाबाट नरेश भण्डारी, नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली काँग्रेसबाट दीपबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिनिता कठायत, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल लगायत १० उम्मेदवार मैदानमा छन्।
शाहीलाई आगामी निर्वाचन पहिलो जस्तो सहज भने पक्कै हुने छैन्। यस पटक नेकपाले पूर्वमाओवादी केन्द्रका नेता नरेश भण्डारीलाई चुनावी मैदानमा उतारेको छ। ०६४ सालको निर्वाचनमा उनै भण्डारीले २१ हजार १२७ मतसहित चुनाव जितेका थिए। उनले काँग्रेसका उम्मेदवारलाई हराए। काँग्रेसले १२ हजार मत पाएको थियो।
०७४ को प्रदेशसभा निर्वाचनमा निर्वाचित भएका भण्डारी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए। २०७९ मा पनि प्रतिनिधिसभा निर्वाचनमा लड्न चाहेका उनले टिकट पाएनन्। त्यसपछि उनि मसिनो गरी पार्टीकै गतिविधिमा संलग्न रहे।
त्यसैमा एमालेबाट हालसम्म चुनाव नलडेका नयाँ अनुहारमा महत उम्मेदवार छन्। जुम्ला ०५६ सालबाट हालसम्म एमालेले चुनाव जित्न सकेको छैन्। समानुपातिकमा राम्रो जनमत मानिने एमाले प्रत्यक्ष प्रस्पिर्धामा दोस्रो–तेस्रो स्थानमा खुम्चिदै आएको छ।
‘विगतका कमिकमजोरीलाई सच्चाउँदै एमाले अगाडी बढेको छ’, एमाले जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार महतले भने, ‘पार्टीभित्र कुनै समस्या छैन्। म आजसम्म कुनै दाग नलागेको नेता हुँ। जुम्लाका जनताले नयाँ अनुहार खोजेका छन्। त्यसमा म पनि नयाँ हुँ।’
यता अहिले चर्चामा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महिला उम्मेदवार उठाएको छ। गत निर्वाचनमा समानुपातिक सांसद बनेकी बिनिता कठायत अहिले प्रत्यक्ष उम्मेदवार छिन्। ‘गत भदौ २३/२४ गतेको घटनाले जुम्लाका सबै नागरिकलाई बोध भइसकेको छ। सबैलाई च्यान्ज चाहिएको छ’, बिनिताले भनिन्, ‘पुराना दलहरुबीचमा देश बनाउँने चिन्ता भन्दा रिस र घमण्ड मात्रै छ। त्यसैले जुम्लाका मतदाताले पनि परिर्वतन खोजिरहेका छन्।’
रवि–बालेनको एकतापछि देशको बागडोर युवाको हातमा जानुपर्छ भन्ने कुरा जुम्लाका गाउँ–गाउँका नागरिकहरुले बुझेको बताउँदै भोट आफ्नो पक्षमा आउँने उनको दाबी छ।
नेपाली काँग्रेसले दीपबहादुर शाहीलाई उम्मेदवार बनाएको छ। २४ वर्षको उमेरदेखि राजनीति सुरू गरेका शाही २०४९ सालमा तत्कालिन कालिकाखेत गाविसको अध्यक्ष बनेका थिए। त्यसपछि २०५४ मा पनि अध्यक्षमै दोहोरिए।
बाल्यकालदेखि राजनीतिमा होमिएका शाहीले कुनै ठूलो अवसर नलिएको बताउँछन्। ‘म बाल्यकालदेखि नै जुम्लाको बाटो बुझ्दै राजनीतिमा लागे। हालसम्म कुनै अवसर मिलेको छैन’, उनले भने, ‘पार्टीले यो पटक अवसर दिएको छ। मतदाताले माया गरिदिनुहुन्छ भने विश्वास लिएको छु।’
शाही २०५४ सालमा तत्कालीन विद्रोही माओवादीले भौतिक कारबाही गरेको बताउँदै द्वन्द्वकालीन घाउहरू लिएर घरदैलोमा पुग्दा मतदाताहरुको सकारात्मक प्रतिक्रिया आएको दाबी गर्छन्।
जनार्दन शर्माले गठन गरेको नया दल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वमाओवादी केन्द्रका युवा नेता अर्थात् गत निर्वाचनमा टिकट खोसिएका उनै धिताल उम्मेदवार छन्। पूर्वपत्रकार तथा लेखक समेत रहेका धितालले पूर्वमाओवादीका मत तान्ने निश्चित छ। पूर्वमाओवादी पृष्ठभूमीका भण्डारी र धिताल फरक कित्तामा उभिँदा मतपरिणाम पनि फेरबदल हुने नेताहरु बताउँछन्।
नेमकिपाबाट विर्खबहादुर रावत, नेजपाका रनिल बिक्रम शाही, नेकपा (माओवादी)बाट बिर्खबहादुर शाही र स्वतन्त्रबाट भक्तबहादुर रावल पनि मैदानमा छन्।
गत निर्वाचनमा एमाले तथा गठबन्धनका उम्मेदवारका लागि चुनौतीका रूपमा खडा भएका राप्रपाका शाहीलाई आगामी निर्वाचनमा भने मत जोगाउन चुनौती थपिएको छ। तर, शाही आफ्नो लोकप्रियता कायम रहेको बताउँदै ठूला भनिने दलहरुसँग टक्कर दिन पुनःमैदानमा उत्रिएको दाबी गर्छन्।
२०७४ सालको निर्वाचनमा जुम्लाबाट प्रतिनिधि सभामा माओवादीका गजेन्द्रबहादुर महतले २२ हजार १७३ मतसहित निर्वाचित भएका थिए। महतले कांग्रेसका देबेन्द्रबहादुर शाहीलाई पराजित गरेका थिए। शाहीले १४ हजार १४९ मत प्राप्त गरेका थिए। उक्त विरसत फर्काउन अहिले भण्डारी कसरतमा छन्।
यस्तै, २०७९ सालमा दलहरुको पाएको समानुपातिक मतपरिणामलाई विश्लेषण गर्दा एमाले अग्र स्थानका छ। एमालेको १० हजार ५४८ सांगठनिक भोट रहँदा १० हजार ४७६ मतका साथ काँग्रेस दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा रहेको नेकपा (तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)को ८ हजार ९६० मत रहँदा शाहीको पार्टी राप्रपाले ५ हजार ७९६ मत प्राप्त गरेको छ।
अहिले नयाँ दलहरुलाई चुनौती दिँदै देशभर फैलिएको रास्वपाको मत जुम्मलामा ८९९ मात्रै छ।
अगामी निर्वाचनका लागि जुम्लामा ७१ हजार ७३९ मतदाता संख्या, ८३ मतदान स्थल र १०८ मतदान केन्द्र तोकिएका छन्।