सुर्खेत । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ स्थित बाँधाखोला नजिक नाग्म–गमगडी सडक खण्डमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।
शनिबार बेलुका करिब ४ बजेको समयमा नेपालगञ्जबाट गमगडीका लागि छुटेको ना ५ ख १६८६ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
उक्त बसमा २६ जना यात्रु सवार थिए।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पिना मुगुबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल मुगु पठाएको छ।
प्रहरीका अनुसार घाइतेहरूलाई साँझ ६ बजे जिल्ला अस्पताल मुगु उपचारका लागि पुगेका थिए। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
केही घाइतेलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने बाँकीको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।
दुर्घटनापछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। साँझ करिब साढे ५ बजे जेसीबी प्रयोग गरी दुर्घटनाग्रस्त बसलाई साइडमा सारिएपछि सडक पूर्ण रूपमा सुचारु गरिएको प्रहरीले जनाएको छ।
बसका सिसाहरू फुटे पनि अन्य ठूलो क्षति हुनबाट जोगिएको प्रहरीको भनाइ छ।
यी हुन्, घाइतेहरु
छायाँनाथ रारा नगरपालिका–१, बस्ने ५१ वर्षीय मेलबहादुर नेपाली— दुबै हातमा चोट, अवस्था मध्यम
छायाँनाथ रारा नगरपालिका–७ का २४ वर्षीय भैपुरा नेपाली— कम्मरमा चोट, सामान्य
छायाँनाथ रारा नगरपालिका–५ ३५ वर्षीया रुमैली महतारा कम्मरमा चोट, सामान्य
छायाँनाथ रारा नगरपालिका–५ घर भएको ३५ वर्षीया मायादेवी रोकाय— ढाड र खुट्टामा चोट, सामान्य
छायाँनाथ रारा नगरपालिका–५ भएको २७ वर्षीया एलिसा कार्की— ढाड र खुट्टामा चोट, सामान्य
छायाँनाथ रारा नगरपालिका–५ ४० वर्षीय रोहन महतारा— शरीरमा चोट, सामान्य
छायाँनाथ रारा नगरपालिका–५ वर्षीय रितिक महतारा— टाउँकोमा सामान्य चोट
छायाँनाथ रारा नगरपालिका–११ घट्टेलेख बस्ने ७० वर्षीय सिब सेजुवाल— सामान्य उपचारपछि डिस्चार्ज
कालीकोटको नरहरिनाथ गाउँपालिका–४, का नेपाल प्रहरीमा कार्यरत २६ वर्षीय कमल बुढा— खुट्टामा चोट, सामान्य उपचारपछि डिस्चार्ज
छायाँनाथ रारा नगरपालिका–१३ बस्ने २५ वर्षीय पूर्णिमा सेजुवाल—टाउकोमा सामान्य चोट, उपचारपछि डिस्चार्ज
पूर्णिमाको २ वर्षीय छोरी विशेषता बोहोरा— शरीरमा सामान्य चोट, उपचारपछि डिस्चार्ज