२०८२ चैत्र २, सोमबार

सुर्खेत। कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ विभिन्न दलबाट ५ जना सांसद सिफारिस भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीबाट समानुपातिकतर्फ १/१ गरी ५ जनाको नाम सिफारिस भएको हो।

निर्वाचन आयोगमा सिफारिसमा परेका ५ मध्ये १ पुरुष र ४ महिला छन्। प्रत्यक्षमा १२५ सिट र समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गर्दै पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कर्णालीलाई समानुपातिक एक सिट मात्रै दिएको छ। देशभरबाट २७ जना सांसद छान्दा कर्णालीबाट सुर्खेतकी सीता बादी दलित महिला क्लस्टरबाट सिफारिसमा परेकी हुन्।

यस्तै, नेकपा एमालेले कर्णालीबाट कालीकोटकी एशुदाकुमारी बराललाई सांसद बनाएको छ। उनलाई एमालेले महिला खसआर्यतर्फ पिछडिएको क्षेत्रबाट चयन गरेको हो।

नेकपाले पार्वती विश्वकर्मालाई सांसद बनाएको छ। जाजरकोटकी पार्वतीलाई नेकपाले दलित महिला र पिछडिएको क्षेत्रबाट सांसदमा सिफारिस गरेको हो।

नेपाली कांग्रेसले कालीबहादुर सहकारीलाई सांसद बनाएको छ। उनि कालीकोटबाट खसआर्य पुरुषको कोटमा पिछडिएको क्षेत्रबाट सांसद बनेका हुन्।

यस्तै, हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सुर्खेतकी राधिका रम्तेललाई सांसदमा सिफारिस गरेको छ। उनलाई दलित महिला क्लस्टरबाट सिफारिस गरिएको हो।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कर्णालीबाट विभिन्न दलबाट गरी ९ जना सांसद बनेका थिए। यस पटक ५ दलबाट ५ जना नेता मात्रै समानुपातिक सांसद बन्न सफल भएका छन्।

कर्णालीमा १२ वटा प्रतिनिधि सभाका प्रत्यक्ष सिटमा कांग्रेसले ५ सिटमा जित हासिल गरेको छ भने नेकपाले ४, नेकपा एमाले, रास्वाप र राप्रपाले १/१ सिट जितेको छन्।