सुर्खेत। बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्समाथि आक्रमण तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चैत ६ गते राति करिब १० बजे सल्यानको कुमाख गाउँपालिकाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदैगरेको एम्बुलेन्सलाई सुर्खेत भेरीगंगा नगरपालिका –११ सादिखोलास्थित सडक खण्डमा केही युवाको समूहले अवरोध गरी आक्रमण गरेको थियो।
मादक पदार्थ सेवन गरेका ५–६ जनाको समूहले एम्बुलेन्स रोकेर चालक ३२ वर्षीय वसन्त शर्मामाथि हातपातको प्रयास गर्नुका साथै गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ।
चालकका अनुसार समूहले सडकमा अवरोध सिर्जना गरी एम्बुलेन्स रोकेपछि आक्रमण सुरु भएको थियो।
ज्यान जोगाउन चालक भाग्न सफल भए पनि समूहले एम्बुलेन्सको पछाडिको सिसा फुटाएर क्षति गरेको थियो।
घटनापछि चालकले इलाका प्रहरी कार्यालय छिन्चुमा जानकारी गराएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अवस्थामा संलग्न व्यक्तिहरू फरार रहे पनि भोलिपल्ट गरिएको अनुसन्धानका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक दीपक मगराठीले पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका –११ का २० वर्षीय प्रविण गहतराज, १८ वर्षीय विशाल बि.क. र १९ वर्षीय विशाल बि.क. रहेको जानकारी दिए।
उनकाअनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय छिन्चुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एम्बुलेन्स तोडफोड भए पनि चालकले बिरामीलाई सुरक्षित नेपालगञ्ज अस्पताल पुर्याएको छ।

