२०८२ चैत्र १२, बिहीबार

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय र प्रधानाध्यापक संघ नेपाल (पान) कर्णाली प्रदेशबीच अन्तर्राष्ट्रिय सम्मेलन सहकार्यका विषयमा बैठक सम्पन्न भएको छ।

मध्यपश्चिम विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयद्वारा चैत ११ आयोजित बैठक अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा मध्यपश्चिम विश्वविद्यालय नेपाल र बिरला ग्लोबल युनिभर्सिटी भारतको संयुक्त आयोजनामा सन् २०२६ अप्रिल २४ देखि २६ सम्म हुने अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै सम्भावित सहकार्यका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा विश्वविद्यालयका विभिन्न निर्देशनालयका कार्यकारी निर्देशकहरू, समितिका सदस्य तथा कर्मचारीहरूका साथै पान कर्णाली प्रदेश अध्यक्ष नवराज घिमिरे, सुर्खेत जिल्ला अध्यक्ष दुर्गा शाक्य लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।

बैठकमा सम्मेलनमा गर्न सकिने सहकार्य सम्बन्धी प्रस्ताव पत्र विश्वविद्यालयका तर्फबाट पानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको थियो। साथै विश्वविद्यालय र विद्यालय तहबीच सम्भावित सहकार्यका विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण सम्मेलन व्यवस्थापन समितिका सदस्य सचिव एवं योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गरेका थिए।