सुर्खेत । कर्णाली सरकारको प्रदेशका दुई वटा सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले दैलेखहुँदै कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रुपमा समावेश गरेको छ।
अब यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए।
त्यस्तै, जाजरकोटको वडावन–सानाखोला सडकलाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता शाहले बताए। उनका अनुसार बैठकले कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गरेको छ।

