२०८३ बैशाख १०, बिहीबार

सल्यान। सल्यानको शारदा नगरपालिका–१, श्रीनगरमा निर्माण गरिएको आधुनिक बसपार्क सञ्चालनमा आएको छ। बसपार्कको उद्घाटन शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले गरेका हुन्।

बसपार्क सञ्चालनमा आएपछि साना–ठूला तथा छोटो र लामो दूरीका सबै प्रकारका सवारीसाधन अब बसपार्कभित्रबाटै सञ्चालन हुन थालेका छन्। यसअघि बजार क्षेत्रका सडक र फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका पसल तथा व्यवसायलाई पनि बसपार्कभित्रै व्यवस्थापन गरिएको छ।

बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी टेन्डर प्रक्रियामार्फत जय बागेश्वरी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शारदा नगरपालिका–२ लाई दिइएको छ।

सम्झौताअनुसार उक्त कम्पनीले शारदा नगरपालिकालाई वार्षिक ५२ लाख रुपियाँ राजस्व बुझाउनेछ। यसबाट नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि हुनुका साथै सेवाग्राहीलाई सहजता हुने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष २०८०/०८१ बाट निर्माण सुरु गरिएको बसपार्क करिब सात हजार वर्गमिटर क्षेत्रफलमा सरकारी पर्ती/ऐलानी जग्गामा फैलिएको छ। नेपाल सरकार, कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा करिब ५ करोड ६० लाख रुपियाँ लागतमा निर्माण गरिएको यो आयोजना नगरपालिकाको प्राथमिकतामा रहेको गौरवको आयोजना हो।

शारदा नगरपालिकाका इन्जिनियर खगेन्द्र मल्लका अनुसार बसपार्क परिसरमा दुईवटा ३४ कोठे व्यापारिक भवन निर्माण गरिएका छन्। बसपार्कमा ३५ वटा स्टल र ३४ वटा सटर सञ्चालनमा रहेका छन्। साथै सार्वजनिक शौचालय, गेट, पार्किङ, फुटपाथ, नालालगायतका संरचना निर्माण गरिएको छ।

नगरप्रमुख भण्डारीले उद्घाटन समारोहलाई सम्बाेधन गर्दै पहिले बसपार्क अव्यवस्थित हुँदा सडकमै गाडी पार्किङ गर्नुपर्ने अवस्था रहेको बताए। “अहिले श्रीनगर बसपार्क आधुनिक, व्यवस्थित र सुविधासम्पन्न पूर्वाधारका रूपमा स्थापित भएको छ,” उनले भने।