सामाजिक संजाल:

२०८३ बैशाख १८, शुक्रबार

काठमाडौँ। घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ मा आज नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

यसैबिच मुख्य प्रशिक्षक स्टुआर्ट लले ओमानविरुद्ध खेलेको नेपाली टोलीका चार खेलाडी परिवर्तन गरेका छन्।

अघिल्लो खेलबाट ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखसँगै बसिर अहमद र करण केसी आज बेन्चमा राखिएका हुन्।

उनीहरूको स्थानमा अर्जुन कुमाल, विनोद भण्डारी, नन्दन यादव र ललित राजवंशी प्लेइङ-११ मा समेटिएका छन्।

योसँगै विनोद भण्डारीले लामो समयपछि सिनियर टोलीमा पुनरागमन गरेका छन्।

यस्तै आजको खेलबाट अर्जुन कुमालले राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गर्ने भएका छन्।

पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको नेपाल लगातार दोस्रो जित हासिल गर्न चाहन्छ।

लिग–२ को शीर्ष ६ मा रहेर एक दिवसीय वरियता जोगाउनका लागि नेपाललाई जितको आवश्यक छ।

सिरिजको आफ्नो दोस्रो खेलमा बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएलएस मेथडमा १ सय २ रनले पराजित भएको हो।

नेपाल आजको खेलमा यूएईलाई हराउँदै घरेलु मैदानमा जारी सिरिजमा ४ अंक बटुल्न चाहन्छ। तर पहिलो खेलमा नेपालसँग पराजित भएको यूएई दोस्रो खेलमा भने घरेलु टोलीलाई स्तब्ध पार्ने योजनामा हुनेछ।

नेपालको प्लेइङ ११
अर्जुन कुमाल, विनोद भण्डारी, भिम सार्की, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी